विपद् पीडितलाई ८० लाख क्षतिपूर्ति

गत असोज १९ देखि २५ गतेसम्म भएको अविरल बेमौसमी वर्षाले सिंजा गाउँपालिका–२ निवासी सर्प वडको १३ कोठे घर पूर्णरूपमा क्षति भयो । घर भत्किएपछि उनको परिवार आफन्तको शरणमा छन् । आर्थिक अवस्था कमजोर भएकोले तत्कालै नयाँ घर लगाउने स्थिति भएन । ऋण जोहो गरी निर्माण गरेको घर वर्षात्ले क्षति भएको ६ महिना बित्यो ।
विपद्ले पनि गरिबलाई नै पीडा थप्ने रैछ भन्दै चित्त बुझाउँदै आएका सर्प वडको पीडामा शिखर इन्स्योरेन्स कम्पनीले मलम पट्टी लगाएको छ । स्याउ बिमा गरेका सर्प वडले चेतना पाएसँंगै पछि ५ सय ८७ रुपैयाँ प्रिमियर शुल्क तिरेर घर बिमा गरेका थिए । उनलाई भने बिमाले चाडै क्षतिपूर्ति दिने पत्तो थिएन ।
तर शुक्रबार गाउँमै पुगेर साढे ५ सय तिरेर घर बिमा गरेका वडलाई ३ लाख ७५ हजारको चेक दिँदा दंग परे । घर भत्किएर छिमेकीको घरमा बस्दै आएका छाैं । घर लगाउने कुनै आयस्रोत छैन । वड भन्छन्, “विपद्को आलो घाउमा शिखर इन्स्योरेन्सले मलम लगायो । साढे ५ सय तिरेर यति ठूलो रकम पाउने कल्पना थिएन । एक्कासि ३ लाख ७५ हजारको चेक पाउँदा निकै खुसी र उत्साहित छु ।”
त्यस्तै स्याउ बिमा गरेका सिंजा–६ का विज्ञान बुढाले घर बिमा गर्न सुरुमा मानेका थिएनन् । शिखर इन्स्योरेन्सले वित्तीय साक्षरतासँंगै बिमाका फाइदाबारे सिकाउँदा ५ सय तिरेर घर बिमा गरे । तर उनलाई आफ्नो घर कुनै हालतमा नभत्किने दम्भ थियो । विडम्बना गत असोजको वर्षात्ले उनको ५ कोठे घर पूर्णरूपमा भत्किँदा पीडामा परेका बुढालाई पनि बिमाले ३ लाख ५० हजार क्षतिपूर्ति दियो ।
सोच्दै नसोचेको क्षतिपूर्ति पाउँदा खुसी छु । विज्ञानले भने, “बिमाको महत्व र फाइदा बल्ल बुझें । घर भत्किएको पीडा, परिवार विचल्ली भएको क्षण पैसामा तुलना त हुँदैन । तर बिमाले विपद्को आलो घाउमा मलम लगायो । घर निर्माण गर्ने आँट र ऊर्जा थप्यो भने सम्पत्ति सुरक्षाको पाठ पनि सिकाएको छ ।”
शिखर इन्स्योरेन्सले सर्प वड र विज्ञान बुढाजस्तै जुम्लाका ४० जना पीडित नागरिकको पिडामा मलम लगाएको छ । गत असोजको वर्षा र बाढी पहिरोले घर पूर्ण भत्किएका जुम्लाका आठै पालिकाका ४० जनालाई बिमा दाबी भुक्तानी गरेको छ ।
४० जनालाई ८० लाखको दाबी भुक्तानी
गत असोजको वर्षा र बाढी पहिरोले घर पूर्णरूपमा क्षति भएका ४० जना पीडितलाई शिखिर इन्स्योरेन्स कम्पन्नी जुम्लाले ८० लाख बढीको बिमा दाबी भुक्तानी गरेको छ । यहाँका आठ पालिकामध्ये चन्दननाथ, पातरासी र गुठिचौरबाहेक पाँच पालिकाका ४० जनाकोे खातामै क्षतिपूर्ति रकम जाने चेक हस्तान्तरण गरिएको हो ।
जसमा सबैभन्दा बढी सिंजा गाउँपालिकाका १४ जना पीडितलाई ४२ लाख ५ हजार ५ सयको चेक हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स जुम्ला शाखा प्रबन्धक दिपदर्शन फडेराले बताए । उनका अनुसार तातोपानीका पाँच जनालाई ६ लाख ५४ हजार, तिलाका १३ जनालाई १० लाख २७ हजार ६०४ रुपैयाँको चेक वितरण गरिएको छ । त्यस्तै हिमाका ६ जनालाई १९ लाख ६९ हजार ६३४ रुपैयाँ, कनकासुन्दरीका १ जनालाई १ लाख ८७ हजार गरी जम्मा ८० लाख ३७ हजार बराबरको क्षतिपूर्ति प्रदान गरिएको शाखा प्रमुख फडेराले जानकारी दिए ।
गुठिचौर र पातारासीमा पूर्णघर नभत्किएको र पातारासीका कसैले घर बिमा नगरेका कारण क्षति भए पनि क्षतिपूर्ति पाएनन् । जुम्लाका २४ सय ६२ किसानले स्याउ बिमा गरेका छन् । तीमध्ये १५ सय ४ जनाले मात्रै घर बिमा गरेका छन् । घर बिमा गरेकामध्ये ४० जनाले पहिलो चरणमा न्यूनतम एक लाखदेखि अधिकृतम ५ लाखसम्मको क्षतिपूर्ति पाएका छन् ।
गत असाजेको वर्षात्ले साविक कर्णालीका पाँच जिल्लामा ठूलो क्षति भयो । सरकारले जुम्लासहित साविक कर्णालीलालाई संकटग्रष्त क्षेत्रसमेत घोषणा गर्यो । तर बिमा कम्पनीले विपद् पीडित राहत पुनःस्थापनामा गरेको योगदान स्वागतयोग्य रहेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार अब सबै नागरिकलाई बिमाको पहुँचमा पुर्याउन पहल थालिने छ ।
कर्णालीको ९९ प्रतिशत सम्पत्ति असुरक्षित
कतिपयलाई चेतना भएर कति चेतना नभएर कर्णालीका नागरिकको ९९ प्रतिशत सम्पत्ति असुरक्षित छ । करिब १७ लाख नागरिक रहेको कर्णालीमा १ प्रतिशतमात्रै सम्पत्ति बिमाको पहुँचमा छन् । जबसम्म सम्पत्ति सुरक्षित हुँदैन् तबसम्म मुलुक समृद्ध बन्दैन ।
शिखर इन्स्योरेन्स कम्पनी जुम्लाका प्रमुख दिपदर्शन फडेरा भन्छन्, “विदेशी मुलुकमा हरेक नागरिकले आफ्नो सम्पत्तिको सुरक्षाका लागि अनिवार्य बिमा गर्छ । कुनै क्षति भए तत्काल राहत पाउँछ, अनि देश सम्पन्न हुन्छ । तर नेपालमा त्यसो छैन । अझ कर्णालीमा करोडौंका मालिक पनि बिमा गर्न चाहन्नन् । पछि कुनै कारणले क्षति भए रोडमा आउँछन् ।”
गरिबी अन्त्यको मुख्य अस्त्र नै बिमा हो । सम्पत्तिको बिमा नगरी गरिबी घट्दैन् । तुलनात्मक रूपमा सम्पत्ति बिमा गरेको १ प्रतिशत नागरिकमध्ये सबैभन्दा बढी जुम्लाकै रहेको प्रमुख फडेराको भनाइ छ । प्रदेश र स्थानीय सरकारले हरेक नागरिकको सम्पत्ति सुरक्षित गर्न अनिवार्य बिमा गर्ने गराउने ठोस नीति लिनुपर्नेमा उनको जोड छ । नेपालमा पछिल्लो समय बढ्दो प्राकृतिक प्रकोपले भौतिक सम्पत्तिको क्षति ह्वात्तै बढेको छ ।
नागरिक एकाएक करोडपतिबाट रोडमा झरेका छन् । जसले गर्दा गरिबी बढाएको छ । भविष्यको जोखिम बहन गर्न, सम्पत्ति सुरक्षित गर्न अनिवार्य घर बिमालगायतका बिमा गर्नुपर्नेमा तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंको जोड छ । उनका अनुसार तातोपानीका सबै नागरिकको घर बिमा गरिदिने तयारी छ । विपद्पछि नागरिकलाई दिने राहत रकमबाटै बिमा गरिदिने र पछि पालिकालाई राहत दिनुपर्ने भार घट्नेसँंगै बिमा गर्ने बानी विकास हुने अध्यक्ष चौलागाईंको विश्वास छ ।