Logo

मेरो लामो संघर्षको सही मूल्यांकन हुनेछ : पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक संघर्षको सही मूल्यांकन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने, “संघीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो संघर्षको सही मूल्यांकन गर्नुहुने विश्वास छ ।”

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन् ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२र६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्