सुरुङ खन्न सक्ने भए नेपाली

दोलखाका गौरीशंकर गाउँपालिका–७ मार्बूका फुर्लाक्पा शेर्पा १० वर्ष अघिसम्म गाउँमा सामान्य कामबाट जीविका चलाउँथे । रोजगारीका सिलसिलामा सिक्किम पुगे । त्यहाँ सुरुङकै काम थाले । गाउँमै ४० मेगावाट क्षमताका खानी खोला १ जलविद्युत आयोजना निर्माण हुने भएपछि गाउँ फर्किए । गाउँमा आयोजनाले सडक र सुरुङको काम सुरु गर्यो । शेर्पाले पनि केही सीप जानेका मान्छे लिएर सुरुङकै काम थाले । गाउँमै कामसँगै अनुभव बढ्दै गयो ।
त्यसपछि आफैंले च्छोरोल्पा निर्माण कम्पनी बनाएर सुरुङकै ठेक्का पट्टाको काम थाले । सिन्धुपाल्चोकमा अर्को जलविद्युत आयोजनाकै काम लिए । तीन वर्ष त्यहाँ बिताएपछि अहिले अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको रोल्वालिङ जलविद्युत आयोजनाको सुरुङकै काम गर्दैछन् । सामान्य कामबाट सुरु गरेका शेर्पा अहिले ठूला सुरुङको ठेक्का लिनेसम्मका भएका छन् । रोल्वालिङमा शेर्पाले कामको जिम्मा लिएपछि कामले गति लिएको छ । परीक्षण सुरुङको रूपमा निर्माण भइरहेको दुईवटा सुरुङमा पाँच सय मिटर सुरुङ तयार भइसकेको छ ।
विगू गाउँपालिका–१ लामाबगरका सोनाम शेर्पा पनि अहिले सुरुङकै काम गर्दैछन् । नासा हाइड्रोपावरले निर्माण गरेको ११ सय मिटर लामो लामाबगर सुरुङमार्ग उनले ठेक्का लिएर सम्पन्न गरे । सोनामको पनि सुरुङमा काम गरेको पुरानो अनुभव होइन । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रमा सामान्य जागिर खाँदा सुरुङ निर्माणको काममा भित्र जाँदा आउँदा नै उनलाई सुरुङ बनाउने आँट आएको हो । सुरुङ निर्माणमा यी दुई शेर्पा प्रतिनिधि उदाहरणमात्र हुन् ।
गाउँमा जलविद्युत आयोजनाले काम सुरु गरेपछि सामान्य मजदुर भएर काम गर्नेहरू केही व्यक्ति सुरुङकै ठेक्का लिने र काम पूरा गर्न सक्ने भएका छन् । यसरी दोलखाको लामाबगर, गौरीशंकर, मार्बूलगायतका ठाउँमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाले धेरै नागरिकलाई जागिरसँगै अनुभव र सीप हस्तान्तरण भएको छ । केही वर्षसम्म सुरुङ नै नदेखेकाहरू अहिले सुरुङमा अभ्यस्त हुन थालेका छन् । सुरुङ भन्ने नेपालीले पनि बनाउन सक्छ र ? भन्ने अवस्था थियो । जलविद्युत आयोजनाहरूकै कारण सुरुङ निर्माण दिनप्रतिदिन थपिँदो अवस्थामा छ ।
३४० मिटर सुरुङमार्ग निर्माण
१० वर्षमा १६ किलोमिटर सुरुङ निर्माण गरेको माथिल्लो तामाकोसीले लामाबगरको काब्रेभीरमा ३ सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गरेको छ । यो नेपालको हालसम्मकै सञ्चालनमा रहेको लामो सुरुङमार्ग हो । सुरुङभित्र नछिरेकालाई लामाबगर यात्रामा यही सुरुङ प्रयोग गर्नुपर्छ । केही महिनापछि लप्ची जानेका लागि पनि लामाबगरमै निर्माण भएको ११ मिटर लामो लामाबगर सुरुङमार्ग प्रयोग हुन्छ ।
यसले काब्रेभीरकोभन्दा लामो हुने भएकाले अब नेपालको हालसम्मको लामो सुरुङमार्ग लामाबगर सुरुङमार्ग हुनेछ । दोलखामा निर्माण भएको माथिल्लो तामाकोसीमा स्थानीय जनशक्तिको रुपमा नेपालीले सुरुङमै काम गरे । निर्माणाधिन खानी खोला, लप्ची, खिम्ती २ जलविद्युत आयोजनामा नेपालीहरु नै ठेकेदार वा श्रमिकको रूपमा काम गर्दैछन् ।
पछिल्लो समय सडकमा पनि सुरुङमार्ग सुरु भएको छ । जलविद्युत आयोजनाहरू वा नदी फर्काउने आयोजना धेरैतिर सुरुङ निर्माणको कामले तीव्रता पाउँदा सुरुङमा काम गर्न सीप जानेकाहरूको कामको अभाव पनि नहुने र कमाइ पनि राम्रो हुने गुल्मीबाट खिम्ती–२ मा आएर ब्रुमर चलाउँदै गरेका हरिबहादुर थापाको अनुभव छ ।
थापाले सुरुङभित्र काम थालेको ३७ वर्ष भयो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेका थापा भारतीय भूमि जम्बु कास्मिर, गडवाल, मनिपुर, दिल्लीलगायतका ठाउँमा पुगे त्यही सुरुङ र रेलमार्गमा काम सिके । अहिले स्वदेशकै जलविद्युत आयोजनाहरूमा सुरुङ खन्ने काम गर्दै आएका छन् । पिपुल्स इनर्र्जी लिमिटेडले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत आयोजनामा सबै किसिमका आठ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ ।
डेढ वर्षमा दुई किलोमिटर सुरुङ निर्माण भइसकेको छ । ६ ठाउँबाट खन्न थालिएको सुरुङको चार ठाउँमा भने मानवीय पाखुराकै बलमा खनिन्छ । जलविद्युत आयोजनाका सुरुङमा काम गर्ने विदेशीमात्र हुन्छन् भन्ने मान्यता अहिले जलविद्युत आयोजनाकै कारण स्वदेशी जनशक्ति उत्पादन हुँदै आएको छ । सुरुङमा ड्रिलिङ गर्ने, खनिएका प्वालमा बारुद हाल्ने, विस्फोट गराउने, सफा गर्ने र बालुवा र सिमेन्टको घोल छर्किने काममा मानवीय जनशक्ति प्रयोग हुन्छन् ।
यस्ता सीप सिकेकाको कामको पनि अभाव नहुने र पारिश्रमिक पनि राम्रो पाउँछन् । तिनै मध्येका एक दैलेखदेखि आएको दिपक शाही पनि हुन् । दिपकजस्तै धेरै जना सुरुङभित्रको काम गर्छन् । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा स्थानीयसमेतको लगानी छ ।
आयोजनाले सीपअनुसारको स्थानीयलाई पनि रोजगारीमा प्राथमिकता दिएको छ । २२ वर्षअघि नै ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती–१ जलविद्युत आयोजना निर्माण भएर सञ्चालनमा आएको दोलखामा त्यसैको केही माथि खिम्ती–२ निर्माण भइरहेको छ । अहिले महिलासमेत सुरुङभित्र काम गर्न थालेका छन् ।