ओखलढुंगाका ९५ प्रतिशत खेत बाँझै

ओखलढुंगा-सिद्धिचरण नगरपालिका–४ का किसान धनबहादुर भुजेलले असारको मध्येसम्म अघिल्ला वर्षहरूमा २५ पाथी धानको बीउ रोपिसक्थे । तर यो वर्ष उनले १० पाथी धानको बीउसमेत रोप्न पाएका छैनन । यसवर्षको चर्को खडेरीका कारण पानी अभाव भएपछि उनको खेत बाँझिने अवस्था आएको छ । “पोहोर साल जेठमै मान्छे बगाउने ठोट्ने खोलामा अहिले पानी नै छैन,” उनले भने, “पानी नभएपछि रोपाइँ गर्न समस्या भएको छ ।”
सिद्धिचरण नगरपालिका–४ कै अर्का किसान खड्गकुमारी दाहालको पनि व्यथा उस्तै छ । “पानी नभएपछि आकाशको भरमा बसेको पनि २ हप्ता बितिसक्यो,” उनले भनिन्, “यसवर्ष त बाँझै हुने भयो खेत ।”
कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांकअनुसार ६ हजार २ सय ५० हेक्टर क्षेत्रमध्ये ओखलढुंगामा हालसम्म ५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ । बाँकी ९५ प्रतिशत् रोपाइँ भएको छैन । “अघिल्ला वर्षहरूमा यतिबेला ३० प्रतिशत रोपाइँ सकिन्थ्यो,” कृषि ज्ञान केन्द्रका प्रमुख मोहनप्रसाद खतिवडाले कारोबारसँग भने, “अहिले त रोपाइँ नै सुरु भएको छैन भन्दा पनि हुन्छ ।”
अघिल्ला वर्षहरूमा जिल्लामा जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु हुने गरेको थियो । असारको पहिलो र दोस्रो साता त झन् किसानहरू रोपाइँमै भ्याइनभ्याइ हुने गरेका थिए । यसवर्ष खडेरीका कारण असारको दोस्रो साता बितिसक्दा पनि उनीहरूले धान रोप्न पाएका छैनन् । जिल्लामा सिंचित खेत न्यून भएका कारण किसानलाई आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खडेरीका कारण जिल्लामा यसवर्ष मूल फुटेको छैन । खोलानालाहरू पनि हिउँदयामझै सुकेका छन् । जसका कारण जिल्लाका अधिकांश खेत रोपाइँ नभएर बाँझिएका छन् ।
चर्को खडेरीकै कारण जिल्लामा बढी सुख्खा हुने लिखु, चम्पादेवी, मानेभञ्ज्याङ, चिशंखुगढी, सुनकोसी गाउँपालिकाका तल्लो भागमा रोपाइँका लागि तयार गरिएको धानको ब्याडसुकेको किसानहरूले बताएका छन् । धान रोपाइँ गर्न नपाएपछि किसानहरू भएका चिन्तित छन् । “चर्को खडेरीले धानको बीउ ब्याडमैसुक्यो,” लिखु गाउँपालिका–६ का किसान मोहन खत्रीले भने, “यसपाली प्रकृतिले हामीलाई धोका दियो ।”
कृषि प्राविधिकहरूका अनुसार सामान्यतः धान असारको अन्तिमसम्म रोप्न सकिन्छ । यद्यपि जिल्लामा साउनको पहिलो सातासम्म धान रोप्ने चलन छ । धान ढिलो रोप्दा उत्पादनमा कमी आउने र किसानलाई घाटा लाग्ने उनीहरूको भनाइ छ ।