Logo

मध्यपहाडी लोकमार्ग निर्माण कार्य तीव्र

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लामो समय रोकिएको लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याण बेसीसम्मको सडक निर्माण कार्यले गति लिएको हो ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो । तर सरोकारवालाको पहलमा सुन्दरबजारको विवाद समाधानपछि अधिकाँश काम चालू आर्थिक वर्षमै सम्पन्न गर्नेगरी तीव्र गतिमा हुन थालेको हो ।

सुन्दरबजारको पाउदीदेखि मध्यनेपाल र कास्की सिमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम भइरहेको आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले बताए । “यसवर्ष पाउदीदेखि सत्रसयसम्म सडक चौडा पारी ग्राभेलिङको काम सम्पन्न हुन्छ,” इन्जिनियर मिश्रले भने, “सत्रसयदेखि रातमाटासम्म जेठ मसान्तभित्र कालोपत्रे सम्पन्न हुनेछ ।”

सोबाहेक रातमाटादेखि मध्यनेपालकै कल्याणबेसीसम्मको काम पनि चालू वर्षमै सम्पन्न गर्ने योजना रहेको इन्जिनियर मिश्रले बताए । बाँकी करिब ६ किलोमिटर सडक खण्डमा केही प्राविधिक व्यवस्थापन बाँकी रहेकोले उक्त ठाउँको काम सुरु हुन नसकेको मिश्रको भनाइ छ । “केहि घर र वन क्षेत्रमा व्यवस्थापन हुन बाँकी छ,” मिश्रले भने, “त्यो पनि व्यवस्थापनको प्रक्रिया सुरु भएकोले ढिलाइ नगरी काम अघि बढाउने प्रयासमा छौं ।”

हाललाई सुन्दरबजार र भोर्लेटारको बजार क्षेत्रका संरचनामा कुनै क्षति नपुर्‍याइ सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी राजमार्ग देशकै गौरवको आयोजना भएको र यो आयोजना निर्माण सम्पन्न भएपछि समग्र जिल्लाकै समृद्धिको आधार तय हुने भन्दै जतिसक्दो छिटो आयोजना सम्पन्न गर्नुपर्ने मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए ।

“मध्यपहाडी लोकमार्ग लमजुङबासीको भाग्य रेखा हो,” नगरप्रमुख पाण्डेले भने, “स्थानीयस्तरमा उत्पन्न समस्यालाई स्थानीयस्तरमै समाधान खोजी गौरवको आयोजनालाई सम्पन्न गर्ने किसिमले हामी लागिपरेका छौँ ।” आर्थिक वर्ष २०६४/०६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार ७ सय ६५ किलोमिटर लामो हुने बताइएको छ ।

सडकखण्डअन्तर्गत अधिकाँश जिल्लामा काम सम्पन्न चरणमा भएको तर लमजुङमा भने निर्माण कार्य सुस्त भएको भन्दै प्रशासनले पनि चासो दिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले आयोजनाको निर्माण कार्यलाई गतिदिन स्थलगत अवलोकनसँगै आवश्यक निर्देशन तथा सहजीकरणका लागि सहयोग गर्ने बताए । “मध्यपहाडी लोकमार्गको अन्यत्र कुनै पनि जिल्लामा काम रोकिएको छैन, यहाँको पनि सक्नुपर्छ,” प्रजिअ पुरीले भने, “यहाँका समस्यालाई समाधान गरी काम सम्पन्न गर्न निरन्तर अनुगमनमा छौँ ।”

करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७ सय ५६ किमि नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ । लोकमार्गअन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रेको भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ । सम्पन्न चरणका कामलाई पनि निरन्तरता दिन थालिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्