आम्दानीको राम्रो स्रोत अग्ला हिमाल

विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको मानिन्छ । तीमध्ये नेपालमा मात्रै आठवटा रहेका छन् । फेरि ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल थपिने कुरो पनि छँदै छ । खासमा जुन देशसँग जति धेरै अग्ला हिमाल भयो, उति नै धेरै विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ, हिमाल आरोहणमार्फत ।
हुन पनि हिमाल आरोहणको माध्यमबाट हुने विदेशी मुद्रा आम्दानीको कुरो गर्दा गएको वसन्त ऋतुमा सगरमाथा हिमालबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँबराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै नेपालमा निजी क्षेत्रका पर्यटन व्यवसायी, होटल व्यवसायी, क्लाइम्बिङ गाइड, हाई अल्टिच्युट पोर्टर र अन्य खाले कामदारले पनि हिमाल आरोहण पेसाबाट राम्रैसँग आम्दानी गर्ने गरेका छन् । हुन पनि गएको वसन्त ऋतुमा विभिन्न देशका हिमाल आरोहीले समग्रमा नेपालका विभिन्न हिमालहरू आरोहण गर्न आएर सलामीबापत मात्रै ७१ करोड ४८ लाखबराबर नेपाली रुपैयाँ तिरेका थिए ।
खासमा गत वर्ष कोरोना महामारीको कहर बाँकी नै भएको अवस्थामा पनि सन् २०२१ मा विभिन्न देशका विदेशी हिमाल आरोही दलका सदस्यहरू नेपालमा रहेका ८ हजार ८ सय ४८.८६ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङ्मालगायत अन्य १६ वटा हिमाल आरोहण गर्न आएका थिए ।
सो सिजनको सुरु ताका (चोमोलुङ्मा चढ्ने क्रम सुरु हुँदै गर्दा) भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आएको थियो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ परेकाले धेरै दिनसम्म हिमाल आरोहण कार्य नै रोकियो । फलतः सो वर्ष आधाभन्दा कम हिमाल आरोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सकेका थिए ।
तथापि हाम्रा लागि सुखद कुरो के भने, गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० वटा विदेशी हिमाल आरोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मिटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । स्मरणीय छ, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोही गएका थिए भने यो वर्ष त मनास्लु हिमाल आरोहण गर्न जानेहरूको ‘मिनी–मेला’ नै लागेको थियो ।
बाँकी आठवटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मिटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमालहरू आरोहण गरेका थिए । ती हिमालहरू आरोहणबापत विदेशी हिमाल आरोहीले सन् २०२१ मा मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । यो रकम भनेको विदेशी हिमाल आरोहीहरूले नेपालका स–साना हिमालहरू आरोहण गरेबापतको रोयल्टी मात्रै हो ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाली चुचुरा एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएर रहेका छन् । हिमाल पर्वतमालाको एकतिहाइ भाग त हामै्र देश नेपाल भएर गएको छ । स्मरणीय के छ भने हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिमाली चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माका साथै हालसम्मको ८ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मासम्म रहेका छन् । विश्वकै अग्लो हिमाली चुचुरो सगरमाथा हो भने सो हिमाल सन् १९५३ मे २९ मा न्युजिल्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक आरोहण गरेका थिए ।
त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकीले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलो पटक सफलतापूर्वक चढेका थिए भने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जीलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलो पटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मिटर हो ।
यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीजरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलो पटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाइ ८ हजार ४ सय ६३ मिटर छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मिटर छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दाबा (लामा) शेर्पाले आरोहण गरेका थिए ।
विश्वको सातौं अग्लो हिमालचाहिँ धौलागिरी हो । यसको उचाइ ८ हजार १ सय ६७ मिटर छ भने सन् १९६० को १३ मेमा स्वीजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मिटर छ ।
मनास्लुको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशिमो इमानिसी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मिटर छ । त्यस्तै यो हिमाल नै हो, समुद्री सतहबाट नाप्दा ८ हजार मिटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलो पटक मानव पाइला राख्न सफल भएको हिमाल ।
सो हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । एवम् रीतले बाँकी रहेका ९ औं, ११ औं १२ औं, १३ औं र १४ औं अग्लो हिमालमध्ये केही चीन र पाकिस्तानमा रहेका छन् । यी हिमालहरू वास्तवमा कतिपयचाहिँ नेपाल–चीन सीमामा रहेका छन् भने कतिपय चीन–पाकिस्तान सीमामा रहेका छन् ।