Logo

हिमपातले राजमार्ग र विद्युत अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको छ । लामो प्रतीक्षापछि परेको हिउँले कृषि क्षेत्रलाई राहत पुर्‍याए पनि दैनिक जनजीवन भने कष्टकर बनेको हो । कालिकोट, जुम्ला र मुगु क्षेत्रको एकमात्र सडकमार्ग कर्णाली राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने जुम्लामा दुई दिनदेखि विद्युत ठप्प भएको छ ।

लगातार भएको भारी हिमपातसँगै वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । बुधबार बिहान ११ बजे तिलागुफा नगरपालिका–४ स्थित राँचुलीमा पहिरो आउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरिक्षक (डीएसपी) नरेन्द्र चन्दले बताए । उनका अनुसार पहिरोले जुम्लादेखि नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश २९५८ नम्बरको यात्रुवाहक जीप पहिरोमा फसेको छ ।

पहिरोले कर्णाली राजमार्ग पूर्ण अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । एक लेनको सडक पूर्ण अवरुद्ध हुँदा तीन जिल्लाको आवतजावत ठप्प छ । अवरुद्ध सडक खुलाउने र पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन सबइन्जिनियर वीरेन्द्र रावलले बताए । उनका अनुसार सूचना पाउनेबित्तिकै डोजर पहिरो प्रभावित क्षेत्रमा पठाइएको थियो ।

लामो समय सडक बन्द भए दैनिक उपभोग्य वस्तुको अभाव हुने चिन्तामा स्थानीय छन् । छिटो सडक खुलाउन स्थानीयको माग छ । मंगलबार बिहानदेखि भएको भारी हिमपातका कारण जुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ । हिमपातले कतै पोल ढल्ने, तार चुँडिने र ब्याट्रीमा चार्जर नभएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

लामो समयपछि परेको हिमपातले राष्ट्रिय प्रसारणलाइन जुम्लामा अवरुद्ध भएको हो । जसबाट हजाराैं उपभोक्ता प्रभावित भएका छन् भने दुई दिनदेखि जुम्ला अँध्यारो भएको छ । इलेक्ट्रोनिक पसलदेखि होटल, व्यापार व्यवसाय क्षेत्र सबै प्रभावित भएका छन् । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा बिजुलीका तार चुँडिएपछि विद्युत अवरुद्ध भएको हो ।

उनले भने, “ठाउँठाउँमा पोल ढलेका छन् । हिमपात जारी छ । मर्मत टिम फिल्डमै तैनाथ छ । मर्मत कार्य पनि जारी रहेको छ । विद्युत सेवाको प्रतिकूल समयमा थप महत्व हुने हुँदा हामी सचेत छौं । लागिपरेका छौं ।” कठ्याँग्रिदो चिसोलाई बेवास्ता गरेर समेत मर्मत कार्यमा जुटेको प्रमुख रावलले बताए ।

आगोको व्यवस्थादेखि न्यायो कम्बल

हिमपातले चिसो ह्वात्तै बढेको छ । हिमपातसँंगै बढेको चिसोबाट नागरिकलाई न्यानो कपडा प्रदान गर्न जिल्ला प्रशासन जुम्लाले चोक–चोकमा आगो ताप्ने व्यवस्था गरेको छ । अत्यावश्यक कामले सदरमुकाम आउने नागरिकको राहतका लागि बुधबारदेखि जुम्ला सदरमुकाम खलंगाका चोकचोकमा आगो ताप्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

दैनिक मानिसको भीड हुने जुम्ला सदरमुकाम खलंगाका प्रशासन, बालमन्दिर, बसपार्क र कालेखोली चोकमा आगो ताप्ने व्यवस्था गरिएको छ । दाउराको कमी भएकाले अन्य स्थानमा आगो बाल्ने व्यवस्थापन भइरहेको छ । साथै जुम्लामा चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिकलाई राहतस्वरुप न्यायो कम्बल वितरण गर्न थालिएको छ ।

यहाँका आठ स्थानीय तहका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने भएको छ । प्रजिअ केसरीका अनुसार यहाँका आठ स्थानीय तहका तीन सय बढी ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र ज्याकेट वितरण गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्