किसान खुसी, जनजीवन कष्टकर «

किसान खुसी, जनजीवन कष्टकर

कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो प्रतीक्षापछि भारी हिमपातसँगै वर्षा भएको छ । मंगलबार बिहानदेखि जुम्लासहित मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा हिमपात भएको हो । कारोबार दैनिकका जुम्ला संवाददाता सागर परियारका अनुसार लेकमा करिब ३ फिट बाक्लो हिउँ जमेको छ भने बेसीमा पनि आधा फिटसम्म हिउँ परेको छ । जुम्लामा भने विगतको तुलनामा यसवर्ष पहिलो पटक ढिला हिउँ परेको हो ।

विगतमा पुसमै हिउँ पर्ने गरे पनि यस वर्ष ढिला हिमपात भएको हो । कर्णाली प्रदेशका कालिकोट, सुर्खेत, दैलेख र जाजरकोट जिल्लामा भने भारी वर्षा भएको छ । लामो समयको प्रतीक्षापछि भएको हिमपातले कृषि क्षेत्रलाई विशेष राहत भएको छ । हिउँ कुरिरहेका कर्णालीका किसान मंगलबार बिहानैदेखि हिमपात हुन थालेपछि बाली सप्रिने भन्दै उत्साहित छन् ।

किसान शंखु खत्रीले भने, “केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ । उत्पादन बढ्छ । हिउँदेबाली जौ, गहुँलाई राहत हुनुका साथै बगैंचा व्यवस्थापनमा सहज हुन्छ ।” माघ पहिलो साता बितिसक्दा पनि हिउँ नपर्दा बाली सुक्ने र उत्पादन घट्ने चिन्तामा रहेका शंखु खत्रीजस्तै जुम्ली किसान हिमपातले निकै उत्साहित भएका हुन् ।

अब जुम्लाका किसान स्याउ बगैंचा काँटछाँट, बिरुवामा चिस्यान कायम राख्न हिउँ संकलनको कार्यमा व्यस्त हुने छन् । हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउँछन् । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उनले भने, “बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादनमा सघाउ पुग्ने छ ।”

हिमपातपछि बगैंचामै पुगेर विरुवा काँटछाँटका तालिमहरु संचालन गर्ने, रोग नियन्त्रणको विषादी दिने लगायत कृषिका गतिविधि बढ्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमपातले कृषि क्षेत्रलाई राहत पुर्‍याए पनि ह्वात्तै बढेको चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । गर्भवती तथा सुत्केरी महिला, बालबालिका, दिर्घरोगी र सडक मानव चिसाले प्रभावित भएका हुन् ।

हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडानसँगै मुगु, हुम्ला र डोल्पाको हवाई उडान ठप्प भएको हो । सडक यातायात अन्तर्गत कर्णाली राजमार्ग, नाग्म-गमगडी सडकको यात्रा पनि रोकिएको छ । यातायातको एकमात्र माध्यम हवाई सेवा ठप्प भएपछि हुम्ला र डोल्पाको जनजीवन बढी प्रभावित भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनस्र्थापनाको पूर्वतयारी मजबुद बनाइएको बताए । उनका अनुसार तीनै सुरक्षा निकाय हिमपातबाट हुन सक्ने जोखिम व्यवस्थापन तथा राहत र उद्धारका लागि तैनाथ अवस्थामा रहेका छन् । चोक चोकमा आगो बाल्ने र चिसोबाट प्रभावित करिब ३ सय परिवारलाई न्यायो कपडा वितरण गर्ने तयारी भएको प्रजिअ केसरीको भनाइ छ ।

मुगुको रारामा पनि यो वर्षकै पहिलो हिमपात भएको छ । कारोबार दैनिकका मुगु संवाददाता दानबहादुर बुढाका अनुसार विगत वर्षमा पुस लाग्नेबित्तिकै राराताल हिउँले सेताम्य हुने गथ्र्यो । रारा विमानस्थल ताल्चा, मुर्मा गाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत बस्तीमा पनि हिमपात भएको छ । मुगुमा माघ लागेपछि बल्ल हिमपात वर्षा सुरु हुँदा किसान उत्साहित भएका छन् ।

मुगुको उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौ वटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ । उच्च क्षेत्रमा यो वर्ष पहिलो पटक हिमपात भएको छ ।

हिमपातका कारण आवतजावतमा समस्या हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । मुगुको तापक्रम माइनस ६ डिग्री छ । यो सिजनमा परेको हिउँ किसानका लागि भने निकै लाभदायक भएको जिल्ला कृषि विकास कार्यालय मुगुका बालि संरक्षण अधिकृत हिक्मतराज तिरीले जानकारी दिए ।

कारोबार दैनिकका जाजरकोट संवाददाता हेमन्त केसीका अनुसार हुम्लाको सिमकोट क्षेत्रमा भने दोस्रो पटक हिमपात भएको छ । माघ ६ गते हुम्लामा पहिलो पटक हिमपात भएको थियो भने सोमबार रातिबाट हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि हिमपात भएको छ ।

बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । सिगासका किसान दानसिंह बोहराका अनुसार सोमबार रातिदेखि मौसममा बदली आएसँगै बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ । वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए । उपल्लो डोल्पामा पनि हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । पशु चौपायादेखि स्थानीयबासीलाई समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्