Logo

तीनै तहमा जैविक विविधता संरचना आवश्यक

सरोकारवालाहरुले राज्यको तीन ओटै तह केन्द्र, प्रादेशिक र स्थानीय तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको बताएका छन् । जैविक विविधताका प्रभावकारी कार्यक्रम तीनै वटा तहमा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि राज्यको तीनै तहमा जैविक विविधता सम्बन्धि संरचना आवश्यक रहेको औल्याएका हुन् ।

जैविध विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि राज्यका तीनै तहमा जैविक विविधताका कार्यक्रम सञ्चालनका लागि छट्टै संरचना आवश्यक रहेको विज्ञहरुले औंल्याएका छन् । गत डिसेम्बरमा सम्पन्न विश्व जैविक विविधता सम्बन्धि सम्मेलनले जैविक विविधताको खतरनाक क्षतिलाई सम्बोधन गर्न र प्राकृतिक पारिस्थितिकीय प्रणालीको पुर्नस्थापना गर्नका लागि अपनाउनुपर्ने उपायहरुको बुँदामा नेपालले जनाएको छ ।

संयुक्त राष्ट्र संघको आयोजनामा, चीनको अध्यक्षतामा, र क्यानडाले आयोजना गरेको, जैविक विविधता सम्बन्धी संयुक्त राष्ट्र महासन्धिको पक्ष राष्ट्रहरूको १५ औं सम्मेलनले ‘कुन्मिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’ (जिबिएफ) लाई २०३० सम्म हासिल गर्न ४ वटा उद्देश्य र २३ वटा लक्ष्यसमावेश गरिएको थियो । जैविक विविधताविद् विजयराज पौडेलले नेपालमा जैविक विविधता सम्बन्धि राष्ट्रिय प्राधिकरण, प्रदेशिक र स्थानीय तहमा संरचना बनाएर अगाडि बढ्न आवश्यक रहेको सुझाव दिएका छन् ।

“जब जैविक विविधताको संरक्षण हुँदैन तब मानवीय जिवनको अस्तित्व रहँदैन, जैविक विविधता संरक्षणमा राज्यले प्रथामिकताका साथ लगानी पनि गरेको पाइँदैन” उनले भने, “अब हामीले जैविक विविधताका प्रभावकारी कार्यक्रम सञ्चालनका लागि ध्यान दिन आवश्यक छ ।” जैविक विविधताको हिसाबले नेपाल धनि भएपनि बासस्थान विनाश, मिचाहा प्रजातिको प्रवेश, आधुनिक खेती प्रणालीका कतिपय गलत अभ्यास, जलवायु परिवर्तनले कृषि जैविक विविधता संरक्षणमा असर पुगेको सरोकारवालाको भनाइ छ ।

जलवायु परिवर्तनको असरका कारण कृषि जैविक विविधताको ह्रास हुँदै गएको भन्दै उनीहरुले समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् । आव. २०७९/०८० को बजेट वक्तव्यमार्फत नेपाल सरकारले २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । उक्त घोषणा बमोजिम जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता नाराका साथ विभिन्न कार्यक्रम गरी यो वर्ष मनाइएको छ ।

प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय अनुसार यस दिवसको अवसर पारेर माघको पहिलो साता भरि देशव्यापी रुपमा विविध कृयाकलाप आयोजना गरी यो दिवस मनाइएको छ । कृषि जैविक विविधता र विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र कन्दमूल सहितको खाद्य परिकारबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने कृयाकलाप सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्