अमेरिका पठाइदिने प्रलोभनमा ५ करोड ठगी «

अमेरिका पठाइदिने प्रलोभनमा ५ करोड ठगी

अमेरिका पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँ ठगी गर्ने अभियुक्त पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले हेलम्बु गाउँपालिका–७ सिन्धुपाल्चोकका सुलभ पण्डित क्षेत्रीलाई जोरपाटी-बेसीगाउँबाट पक्राउ गरेको हो ।
व्यूरोका अनुसार अभियुक्त क्षेत्रीले आफू अमेरिकी सेनामा कार्यरत रहेको र सजिलै अमेरिकी भीसा लगाइदिने लोभ देखाएर युवातीहरुबाट मोटो रकम असुल्ने गरेका थिए । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा अमेरिकी सेनामा रहेको विवरण समेत उनले राखेपछि थुप्रै युवतीहरु उनको सम्पर्कमा पुगेर पैसा बुझाउने गरेको अनुसन्धानबाट खुलेको छ । यसबाहेक अभियुक्त पण्डितले भारतीय सेनामा समेत सजिलै जागिर लगाइदिने प्रलोभनमा विभिन्न युवाहरुबाट रकम असुल्ने गरेका थिए ।
व्यूरोका अनुसार आफ्नो ठगी धन्दा पर्दाफास हुने डरले किर्ते कागजात बनाएर फरक–फरक नाम उल्लेख गरेर नेपाली नागरिकता समेत लिएको पाइएको छ । व्यूरोक एसपी जीवनकुमार श्रेष्ठका अनुसार उनले मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीका नाममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता लिएको खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा अभियुक्त पण्डितले झुटा विवरण पेश गरी खाता समेत खोलेको भेटिएको छ ।
काठमाडौं जिल्ला अदालतमा मात्रै अभियुक्त पण्डित विरुद्ध ४ करोड ९५ लाख रुपैयाँ ठगीको मुद्दा विचाराधीन छ भने व्यूरोमा मात्रै १४ जना युवायुवतीलाई अमेरिका पठाइदिने तथा भारतीय सेनामा जागिर लगाइदिने प्रलोभनमा १ करोड ५० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । व्यूरोले अभियुक्त ले अन्य व्यक्ति तथा संस्थाहरुलाई समेत ठगी गरेको हुनसक्ने भएकोले व्यूरोको कार्यालयमा उजुरी दिन समेत अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्