दोहोरिने दुर्घटना ! «

दोहोरिने दुर्घटना !

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना भएपछि फेरि एकपटक नेपाली आकाशको सुरक्षाप्रति प्रश्न उठेको छ । आन्तरिक उडानतर्फको अहिलेसम्मकै सबैभन्दा ठूलो यो दुर्घटनामा परी विमानमा सवार ७२ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर–७२ विमान पोखरा–१५ स्थित नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पुग्न १० सेकेन्ड मात्र बाँकी छँदा भएको यो दुर्घटनामा नेपाली नागरिकका अतिरिक्त १५ जना विदेशी यात्रु थिए । घटना हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलको रेस्क्यु टिमसहित स्थानीय उद्धारमा खटिए पनि कसैलाई जीवित फेला पार्न सकिएन । विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ भने दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

नेपालको हवाई उड्डयनको इतिहासमा यति एयरको यो जहाज दुर्घटना १ सय ४ औं हो । नेपालमा पहिलो हवाई उडान वि.सं. २००५ मा भएको थियो । त्यसपछिका ७४ वर्षमा १ सय ४ को संख्यामा जहाज दुर्घटनामा परेका छन् । यो दुर्घटनाबाट अहिलेसम्म ९ सयभन्दा धेरै नागरिकको ज्यान गएको अवस्था छ । अरू विश्वलाई छाडेर छिमेकी मुलुक भारत र चीनलाई मात्र हेर्ने हो भने पनि ठूला जहाज दुर्घटनामा पर्ने समय अन्तर लामो भएको देखिन्छ ।

सरकारले जतिसक्दो चाँडो प्राधिकरणलाई नियमन गर्ने र अनुमति दिने गरी दुईवटा निकायमा विभाजन गरेर अनुगमनको पाटोलाई सख्त बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

चीनमा दुई वर्षअघि एउटा जहाज दुर्घटनामा परेको थियो, त्यो पनि दस वर्षपछि मात्र । यस्तै भारतमा पनि हवाई दुर्घटना निकै कम हुने गरेका छन् । नेपालमा भने वार्षिक रूपमा वा एक/दुई वर्षको अन्तरालमा दुर्घटना भइरहेको देखिन्छ । बारम्बार दोहोरिरहने हवाई दुर्घटनाले के संकेत गरिरहेको छ ? यसका खास कारण के हुन् र सुधार गर्नुपर्ने विषय कहाँ छ ? सरकारले अहिलेसम्म यसको न उत्तर खोजेको छ, न त सबैलाई जानकारी दिन नै सकेको छ ।

अहिलेसम्मको इतिहास हेर्दा नेपालमा सबैभन्दा धेरै हवाई दुर्घटना नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा भएको देखिन्छ । जबकि यही कम्पनीले वर्षौंदेखि अन्तर्राष्ट्रिय उडान पनि सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय उडानमा सधैं सचेत हुने निगम आन्तरिकमा किन हुन सकेको देखिँदैन ? यस्तै निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूलाई हेर्दा सबैभन्दा बढी जहाज दुर्घटना यति एयरका भएका छन् । अरू कम्पनीले सुरक्षित हवाई उडान गर्दा यतिका जहाज किन बारम्बार दुर्घटनामा परिरहेका छन् ?

हवाई उडानसँग धेरै जानकार नभएका सर्वसाधारण नागरिकले नेपालमा सञ्चालनमा ल्याएका अधिकांश जहाज पुराना र थोत्रा भएको टिप्पणी गर्छन् । यस्ता टिप्पणी सार्वजनिक सञ्चारमाध्यमबाट पनि हुँदै आएको छ । त्यसैले यो पनि एउटा प्रश्न बनेको छ । सामान्यतया कुनै पनि कम्पनीको जहाज नयाँ र पुरानोभन्दा त्यसको नियमित मर्मतसम्भार र समयमा पार्टपुर्जा परिवर्तन गरिएको छ कि छैन भन्ने विषयले धेरै महत्त्व राख्छ । जहाजमा समावेश भएको इन्जिनदेखि लिएर महत्त्वपूर्ण पार्टपुर्जा निश्चित घण्टा उडेपछि अनिवार्य रूपमा परिवर्तन गर्नुपर्छ ।

यस्तै समयअनुसार जहाज मर्मतसम्भार पनि भइरहनुपर्छ । कतिपय कम्पनीले थोरै खर्च जोगाउनका लागि तोकिएको समयमा पार्टपुर्जा नफेर्ने र मर्मतसम्भार नगरेको हुन सक्छ । नेपालका पहाडी क्षेत्रमा बढी जहाज दुर्घटना हुँदै आएको देखिन्छ । यो भूगोलका कारण हो वा अन्य हो, अहिलेसम्म यथार्थ खुलेको छैन । हाम्रो जस्तो पहाडी भूभाग भएका विश्वका अन्य मुलुकहरूमा भने छिटोछिटो हवाई दुर्घटना भएको सुनिँदैन । यसैले दुर्घटनाको कारण भूगोल र मौसमलाई मात्र दिनुमा कतै अरू कमजोरीहरू लुकाउन खोजिएको त होइन भन्ने प्रश्न पनि उब्जाएको छ ।

नेपालका केही अनुभवी पाइलटहरूले केही जोखिम मोलेर पनि उडान भर्ने गरेको आरोप लाग्दै आएको छ । कहिलेकाहीं यस्ता आरोपलाई पुष्टि हुने गरी उडान भरिएका उदाहरण पनि फेला पर्छन् । कुनै एक कम्पनीको जहाजले मौसमलाई देखाएर उडान नभरेको अवस्थामा अर्को कम्पनीको जहाजले त्यही बेला र त्यही रुटमा उडान गरेको कैयौं उदाहरण छन् । यसले कम्पनी र पाइलटहरू दुवैले जोखिम मोल्ने गरेको प्रस्ट हुन्छ । अर्कातिर केही हवाई कम्पनीहरूले पाइलटहरूलाई दबाब दिएर पनि उडान भर्न लगाएको आरोप लाग्ने गरेको छ ।

जे होस्, जोखिम लिने प्रवृत्ति हामीकहाँ अन्य मुलुकमा भन्दा बढी नै छ । हुन त दुर्घटना बढाउने विषयमा यस्तो जोखिम कति जिम्मेवार छ, अनुसन्धान हुन बाँकी नै छ । अर्कातिर मुलुकका दूरदराजहरूमा खुलेका विमानस्थलहरूमा आवश्यक सबै उपकरण नहुँदा पनि दुर्घटना बढ्न सहयोग पुगेको मानिँदै आएको छ । विगतमा राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत राडारलगायतका उपकरणहरू जडान नभएको अवस्था थियो । यस्तै अवस्था अहिले धेरै विमानस्थलहरूमा छ ।

आवश्यक उपकरण नभएपछि विमानस्थलमा रहने कर्मचारीले समस्यामा परेका विमानलाई निर्देशन दिन र सुरक्षित अवतरण गराउन सक्ने अवस्था छैन । यस्तै मौसमका कारण पनि यहाँ धेरै जहाज दुर्घटनामा परेको अवस्था छ । सबैयन्त्र जडित आधुनिक जहाज प्रयोगमा नभएको अवस्थामा अचानक बदली हुने मौसमले धेरै जहाजलाई दुर्घटनामा पारेको भनिन्छ । नेपालमा हवाई दुर्घटना बढेपछि युरोपियन युनियनले हामीलाई कालोसूचीमा राखेको धेरै भइसकेको छ । यसमा धेरै कारण देखाइए पनि दुर्घटना कम नहुनु सबैभन्दा ठूलो कारण हो ।

अर्को एउटै निकायले अनुमति दिने र अनुगमन पनि गर्ने कामले पर्याप्त कमजोरी हुने उसको धारणा छ, जुन सत्य हो । नेपाली आकाश असुरक्षित बनाउन भूमिका खोलेको भनिएका यी सबै प्रश्नको निवारण गर्ने जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । तर, प्राधिकरण आफैं विभाजनको विवादमा छ । यस्तो विवादित संस्थाले सुरक्षित आकाश बनाउन कसरी सक्ला ? सबैको प्रश्न छ । त्यसैले सरकारले जतिसक्दो चाँडो प्राधिकरणलाई नियमन गर्ने र अनुमति दिने गरी दुईवटा निकायमा विभाजन गरेर अनुगमनको पाटोलाई सख्त बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्