स्वास्थ्यप्रति सचेत छैनन् नागरिक «

स्वास्थ्यप्रति सचेत छैनन् नागरिक

घोराही उप महानगरपालिका–१९ तिर्साङ निवासी नविकला पुनमा ढाड दुख्ने समस्या थियो । तर उनी चेक गराउनका गएकी थिइनन् । शनिबार घोराही–१९ को सैघा वडा कार्यालयमा स्वास्थ्य शिविर चलेको जानकारी पाएपछि उनी शिविरमा परीक्षण गर्न आएकी थिइन् । उनी चेक गराउनका लागि बिहान शिविरस्थलमा आइपुगेकी थिइन् ।

शिविरमा चेक गराएपछि उनले औषधिसमेत निःशुल्क पाइन् । “डाक्टरहरू आउने जानकारी पाएपछि घरमा ढोका लगाएर बिहानै आएकी हुँ,” उनले भनिन्, “आफ्नै गाउँमा डाक्टरसँग सहज रूपमा चेक गराउन पाउँदा खुसी लागेको छ ।” चेक गराएर घर गएर खाना पकाएर खानेसमेत उनले बताइन् ।

‘आफ्नै गाउँमा चेक गराउन पाउदा धेरै सजिलो भयो’ पुनले भनिन् । घोराही सम्म पुग्नका लागि भाडा मात्रै ६ सय रुपैयाँ लाग्ने थियो । चेक गराउन र औषधिका लागि थप पैसा र दिनभरिको समय लाग्ने उनले बताइन् । आफ्नै गाउँमा डाक्टर नहँुदा सहज हुने बताइन् । “गाउँमै विशेषज्ञ डाक्टरी सेवा नहुँदा सामान्य उपचारमात्र हुने गरेको छ,” पुनले भनिन् । गाउँमै सेवा पाउने व्यवस्था गरिनुपर्ने उनले बताइन् ।

सैघा गोठी वनका लीलादेवी खड्कालाई पनि टाउको दुख्ने र कम्मर दुख्ने समस्या थियो । बिरामी भए पनि उनले चेक गराएकी थिइनन् । गाउँमै शिविर आएको जानकारी पाएपछि उनी शिविरमा आएको बताइन् । “चेक गराउनका लागि कतै गएकी थिइन गाउँमै डाक्टर आउने भएपछि आएकी हुँ,” खड्काले भनिन् ।

गाउँमा सामान्य उपचारमात्र हुने गरेको उनले बताइन् । “पैसा पनि हुँदैन सहन सक्दासम्म सहेर बस्ने हो धेरै भएपछि मात्र चेक गराउन जाने हो,” खड्काले भनिन् । सैघा सातामकी पार्वती रावत पनि उपचारका लागि बिहानै शिविरमा आइपुगेकी थिइन् । उनी १ घण्टाको बाटो हिँडेर शिविरमा चेक गराउन आएको बताइन् । उनले आफूलाई दमको समस्या रहेको बताइन् । “डाक्टरलाई चेक गराएर औषधि लिएर जाँदैछु अब सञ्चो हुन्छ कि,” रावतले भनिन् ।

आफ्नो समस्या डाक्टरसँग आफ्नै गाउँमा राख्न पाउँदा खुसी लागेको उनले बताइन् । उनी बिरामी भए पनि उपचारका लागि घोराहीसम्म नगएको बताइन् । “सधैभरि आफ्नै गाउँमा यसरी चेक गराउन पाए हामीलाई धेरै सहज हुने थियो,” रावतले भनिन् । सैघा साउनेपानीका जितमान विक पनि चेक गराउनका लागि लाइनमा बसेका थिए । खुट्टा दुख्ने, कान कम सुन्ने समस्या रहेको उनले बताए । समस्या भए पनि उपचारका लागि अस्पतालसम्म नगएको उनले बताए ।

उनले भने, “नजिकै उपचार पाउन डाक्टरी सेवा पाइँदैन त्यसैले चेक पनि गराइन ।” चेक गराउन घोराही जानुपर्ने बाध्यता छ । डाक्टरलाई चेक गराएपछि आफ्नो समस्या समाधान हुने उनको भनाइ थियो । “गाउँमा नै डाक्टर आएको थाहा पाएकाले आएको हुँ,” विकले भने । उनीहरू मात्र होइन शिविरमा आएका अधिकांशले आफ्नो समस्याका बारेमा नबताउने गरेको पाइएको छ ।

विकट क्षेत्र, गरिबी र अशिक्षाका कारण पनि रोग लुकाउने गरेको पाइएको स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रजातान्त्रिक उद्यमी संघको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङको सहआयोजना एवं घोराही उपमहानगरपालिका–१९ को व्यवस्थापनमा स्त्री रोग, फिजिसियन, हाडजोर्नी तथा नशारोगसम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्