Logo

श्रीलंकामा संकटकाल लम्बियो

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिएका हुन् ।
उनले यहाँका नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजर गरी यो अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट गरेका छन् ।
गत अप्रिलमा भएका आतंककारी हमलामा परी २ सय ५८ जनाको ज्यान गएको थियो । सो आक्रमण श्रृंखलाबद्ध रूपमा भएको थियो ।
त्यस हमलापछि श्रीलंकामा ठूलो आतंक फैलिएको थियो । त्यस हमलापछि त्यसमा संलग्नहरूको खोजीका क्रममा अहिले पनि कम्तीमा १ सय जना व्यक्ति त्यहाँको जेलमा रहेका छन् ।
राजधानी कोलम्बोस्थित तीनवटा चर्च र अरू तीनवटा पाँचतारे होटलमा यस्तो हमला भएको थियो । हुन त मे महिनाको अन्तिमतिर श्रीलंकाली राष्ट्रपति सिरिसेनाले पश्चिमा देशका कूटनीतिज्ञहरूसँग कुराकानी गर्दै देशको शान्ति–सुरक्षा पहिलेकै अवस्थामा पुगेर सामान्य भइसकेकाले यही जुन २२ मा सकिने संकटकालको अवधि नबढाउने बताएका थिए ।
तर, उनले आज संकटकालीन अवस्थाको समयावधि बढाएकोमा सबैले आश्चर्य मानेका राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।
सार्वजनिक सुरक्षाका लागि संकटकाल फलदायी भएको र आवश्यक पनि देखिएकाले म्याद थपिएको राष्ट्रपति सिरिसेनाले स्पष्ट पारेका छन् ।
उनले हस्ताक्षर गरेर विशेष राजपत्रमा प्रकाशित सूचनाका अनुसार सेवा प्रवाह र दैनिक जीवनमा सहजता आउने उल्लेख गरिएको छ ।
आतंककारीहरूले गत अप्रिल २१ तारिखका दिन आक्रमण गरेका थिए भने राष्ट्रपति सिरिसेनाले त्यसको भोलिपल्ट अप्रिल २२ मा संकटकाल घोषणा गरेका थिए ।
सुरुमा एक महिनाका लागि घोषणा गरिएको संकटकाल मे २२ मा पुनः एक महिनाका लागि थपिएको थियो । त्यसलाई निरन्तरता दिँदै शनिबार फेरि एक महिनाका लागि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्