सम्भावित विश्व मन्दी र नेपालले चाल्नुपर्ने कदम

हालै अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२२ को विश्वव्यापी आर्थिक परिदृश्य ‘ग्लोबल इकोनोमिक आउटलुक, २०२२’ प्रकाशनमा ल्याएको छ । यसले निकट भविष्यमै विश्व अर्थतन्त्रको एकतिहाइ भाग मन्दीतर्फ धकेलिन सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिनु ठूलो चुनौतीको विषय हुन गएको छ ।
यो प्रक्षेपण विकसित देशहरूका लागि मात्र नभएर हाम्रो लागि पनि त्यति नै अप्रिय छ । सन् १९९७ मा पूर्वी एसियामा आएको आर्थिक संकट एवम् सन् २००८ मा अमेरिकाबाट सुरु भएको वित्तीय संकटजस्तै गरी अब आउन सक्ने प्रक्षेपण गरिएको मन्दीले कसलाई कहाँ पुर्याउँछ भन्ने कुरा अहिले नै अनुमान गर्नु त्यति सजिलो छैन ।
तर, यस्तो मन्दीले हाम्रो दैनिक जीवनमा पक्कै पनि चुनौतीको पहाड थपिदिनेछ । यस्तो मन्दी किन आइरहेको छ र यसबाट हुने नोक्सानीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा हामीहरूको बीचमा छलफल एवम् विश्लेषण हुनु अति जरुरी देखिएको छ । यो लेखमा त्यही विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाली मुद्राको लगातार अवमूल्यनले यसको क्रय क्षमतामा ह्रास आउन पुगेको छ । अहिले १ अमेरिकी डलरको खरिद विनिमय दर रु. १३२.२८ पुगेको छ । यसले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा ठूलो चाप पर्न सक्ने देखिन्छ । सरकारी क्षेत्रको चालू खर्चमा तीव्र वृद्धि भएको छ । राजस्वले चालू खर्च धान्न पनि मुस्किल परिराखेको छ । पुँजीगत खर्चमा वृद्धि हुन सकेको छैन ।
युरोपियन युनियनमा देखिएको आर्थिक संकट
विकासको चरमचुलीमा पुगेको र मानव विकासमा संसारकै उच्चतम आदर्श मानिएको युरोप अहिले अस्तव्यस्त छ । युरोपका विभिन्न देशमा नियमित रूपमा प्रदर्शन र हड्ताल हुने गरेको देखिन्छ । मानिसहरू अत्यन्तै बेखुसी छन् । मूल्यवृद्धिले आकाश छोएको छ । ऊर्जा संकट र खाद्यान्न संकटले युरोप बेहाल छ । राजनीतिक नेतृत्वको लोकप्रियता घट्दै गइरहेको छ ।
कोभिड–१९ को महामारीबाट थलिएको अर्थतन्त्रमा हालको रूस–युक्रेन युद्धले थप जटिलता सिर्जना भएकाले यो अवस्था आएको हो । सन् २०२२ को फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि सैनिक आक्रमण सुरु गरेपश्चात् युरोप विविध समस्यामा फस्दै गएको छ । रसिया र युक्रेन ठूलो परिमाणमा गहुँ, जौ, मकैलगायतका खाद्यान्न उत्पादन गरी ठूलो परिमाणमा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने देशहरू हुन् ।
साथै रसियाले विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल, प्राकृतिक ग्यास र रासायनिक मलको समेत निर्यात गर्ने गर्छ । रसियाले युक्रेनमा युद्ध सुरु गरेपश्चात् युरोपियन युनियनले रसियाबाट आपूर्ति हुने विभिन्न वस्तुमा प्रतिबन्ध लगायो । तत्पश्चात् रसियाबाट युरोपमा आपूर्ति हुने कच्चा तेल, प्राकृतिक ग्यास, खाद्यान्न, रासायनिक मल आदिको निर्यातमा व्यापक कटौती हुन पुग्यो ।
तर, युरोपले सस्तो मूल्यमा पर्याप्त मात्रामा अन्य मुलुकहरूबाट यी वस्तुको आयात भने गर्न सकेन । फलस्वरूप युरोपमा ऊर्जा एवम् खाद्यान्न संकट सिर्जना हुन पुग्यो । यी वस्तुहरूको आपूर्तिमा अत्यन्तै कमी आएसँगै अकासिंदै गएको मूल्यवृद्धिले जनजीवन अत्यन्तै कष्टकर भएको छ । आर्थिक अवस्था दिनानुदिन खस्कँदै गएपछि जनतामा व्यापक असन्तुष्टि र बेखुसी बढ्दै गएको छ ।
बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदरमा वृद्धि गरिदिँदा उद्योग–व्यवसायहरू अत्यन्तै अप्ठ्यारोमा परेको अवस्था छ । ऋण बढी लिएका मुलुकहरू ऋणको माखेसाङ्लोमा फस्दै जाने अवस्था आएको छ । व्यवसायहरू अप्ठ्यारोमा पर्दै गएपछि नागरिकको रोजगारी गुम्न सक्ने, आयस्तर खस्कँदै जान सक्ने र अन्त्यमा आर्थिक मन्दीको अवस्था सिर्जना हुन सक्ने स्पष्ट संकेत देखिएको छ ।
रसिया र युक्रेनबीचको युद्धका कारणले बाह्य विश्वमा खाद्यान्न संकट आउन नपाओस् भन्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको सहजीकरणमा रूस, युक्रेन, टर्की र संयुक्त राष्ट्रसंघबीच सन् २०२२ को जुलाई २२ मा एक सहमति गरियो । यो सहमतिअनुसार खाद्यान्न एवम् रासायनिक मलको वितरणका लागि युक्रेनका केही बन्दरगाहहरू प्रयोग गर्न सकिने भयो ।
‘ब्ल्याक सी ग्रेन डील’ नाम दिइएको यस सहमतिबाट खाद्यान्न आपूर्तिमा केही सहजीकरण भए पनि समस्याको पूर्ण समाधान हुन भने सकेन । युरोपियन बजारमा सिर्जना भएको खाद्यान्नको अभावका कारणले तीव्र रूपमा मूल्य वृद्धि हुन गई खाद्य संकट सिर्जना हुन पुग्यो । यसका साथै एसिया, अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वका अर्थतन्त्रसमेत गहिरो संकटमा फस्न पुगेका छन् ।
चिनियाँ अर्थतन्त्रमा देखिएको असहजता
चीनले लिएको शून्य कोभिड नीतिअन्तर्गत भएका नियमित लकडाउनले यहाँको अर्थतन्त्र थप जटिल बन्दै गएको छ । खासगरी यहाँका उद्योग–व्यवसाय एवम् अन्य आर्थिक गतिविधिमा बिस्तारै शिथिलता आउन थालेको संकेतहरू देखिएका छन् । चीनको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेको रियलस्टेट क्षेत्रमा बिस्तारै संकुचन आउन थालेको छ । यसले आन्तरिक बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भएको छ भने आर्थिक वृद्धि, रोजगारी वृद्धि आदिमा संकुचन आउने संकेत देखिएका छन् । चीनको अर्थतन्त्रमा शिथिलता आउँदा यसबाट विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ ।
अमेरिकी अर्थतन्त्रमा देखिएको समस्या
यतिखेर अमेरिकी अर्थतन्त्र पनि सबल र सशक्त हुन सकेको छैन । विश्व अर्थतन्त्रसँग एकाकार भएर जोडिएको अमेरिकी अर्थतन्त्रमा अन्य क्षेत्रमा देखा परेका सकारात्मक एवम् नकारात्मक प्रभावहरूबाट सीधै असर पर्न जान्छ । युरोपमा देखिएको ऊर्जा संकट एवम् खाद्य संकट, चीनमा देखिन थालेको आर्थिक संकुचन आदिबाट अमेरिकी अर्थतन्त्रमा स्वतः नकारात्मक असर पर्ने सम्भावना छ । अकासिँदो मूल्यवृद्धि, कुल गार्हस्थ्य उत्पादनमा संकुचन, बढ्दो बेरोजगारीजस्ता समस्याबाट अमेरिकीहरू तर्सिन थालेका छन् ।
नेपालको अवस्था
विश्वका ठूला अर्थतन्त्रहरूमा आँधीहुरी आइरहेको बेलामा नेपालको अर्थतन्त्रले पनि अप्ठ्यारा संकेतहरू देखाउन थालेको छ । अहिले अर्थतन्त्रका केही बाह्य सूचकहरूमा आत्तिहाल्नुपर्ने अवस्था नदेखिएको भए पनि आन्तरिक सूचकहरूले भने अप्ठ्यारो अवस्था इंगित गरेका छन् । नेपालको मुद्रास्फीति दर अकासिएको छ । यसलाई समयमै नियन्त्रणमा ल्याउन सकिएन भने आगामी दिनमा जनताको दैनिक जीवनमा ठूलो संकट आउने सम्भावना देखिन्छ ।
कात्तिक महिनाको मुद्रास्फीतिदर ८.०८ प्रतिशत देखिएको छ, जुन आफैंमा उच्च हो । यसका विभिन्न उपक्षेत्रहरूको समीक्षा गर्दा अझै डरलाग्दो अवस्था देखिन्छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति १७.७१ प्रतिशत र स्वास्थ्य उपसमूहको ११.२२ प्रतिशत रहेको छ ।
यस खालको मुद्रास्फीति नियन्त्रणमा आएन भने निकट भविष्यमा नै थप असमाञ्जस्यता देखिने सम्भावना छ । नेपाली मुद्राको लगातार अवमूल्यनले यसको क्रय क्षमतामा ह्रास आउन पुगेको छ । अहिले १ अमेरिकी डलरको खरिद विनिमय दर रु. १३२.२८ पुगेको छ । यसले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा ठूलो चाप पर्न सक्ने देखिन्छ । सरकारी क्षेत्रको चालू खर्चमा तीव्र वृद्धि भएको छ । राजस्वले चालू खर्च धान्न पनि मुस्किल परिराखेको छ । पुँजीगत खर्चमा वृद्धि हुन सकेको छैन ।
सार्वजनिक वित्तलाई सन्तुलनमा ल्याउन निकै मेहनत गर्नुपर्ने आवश्यकता देखिएको छ । यस अवधिमा बैंकिङ क्षेत्रको तरलतामा अस्वाभाविक रूपमा संकुचन आएको छ । नेप्से सूचकांकको रेखा माथिबाट तलतिर झरिरहेको छ । यी विवरणहरूले हाम्रो अर्थतन्त्रको आन्तरिक स्वास्थ्यमा जटिलता रहेको संकेत देखाउँछन् ।
भावी कार्यदिशा
यसरी विश्व अर्थतन्त्रले निकट भविष्यमा आर्थिक मन्दीको प्रतीक्षा गरिरहेको अवस्था हाम्रो सामु देखिएको छ भने नेपाली अर्थतन्त्रले पनि अप्ठ्यारो भविष्यको संकेत गरेको छ । अतः हामीले विश्व अर्थतन्त्रमा आउने उतारचढावलाई यथेष्ट ध्यान दिने, त्यसबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरण गर्ने र आइपर्न सक्ने कठिनाइहरूको सामना गर्दै सुरक्षित अवतरण गर्न वित्त नीति, मौद्रिक नीति तथा अन्य विषय क्षेत्रगत नीतिका उपकरणहरू बुद्धिमत्तापूर्वक उपयोग गर्नु अपरिहार्य छ ।