महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण «

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय विरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै गिरीले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्