Logo

सुन पाउनै समस्या

सुनचाँदी व्यवसायीहरुले सिजनमा माग अनुसार कच्चा पदार्थ सुन पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले सुनचाँदी व्यवसायी भएकै कारण विभिन्न बहानामा प्रशासनबाटै कानुनी झमेला बेहर्नु पर्ने अर्को बाध्यता समेत रहेको भन्दै सुनचाँदी सम्बन्धी कानुन बनेपनि त्यो कार्यान्वय हुन नसकेको बताए । व्यवसायीहरुले सुन किनेकै भरमा जेल जानुपर्ने बाध्यता कहिले काहि आउने गरेको गुनासो गरेका छन् ।

नेपालगञ्ज सुनचाँदी व्यवसायी समितिका अध्यक्ष सलाउद्दीन जास्करले आफुहरुलाई चोर सरह व्यवहार हुने भन्दै विभिन्न बहानामा व्यवसायीहरुलाई मुद्धा चलाउने गरेको बताए । “चोरीको सुन भनेर होस वा विल भएन भनेर यो वा त्यो बहानामा हामी सुन व्यवसायीहरुलाई दुःख दिने काम भएको छ” उनले भने । उनले अब मेची महाकालिका व्यवसायीहरु आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको बताए । व्यवसायी चन्द्रबहादुर सुनारले पनि आफूहरु सधै निगरानीमा रहने भन्दै चोर भेटिदा पनि प्रशासनमा जानुपर्ने बाध्यता रहेको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मणिकरत्न शाक्यले सरकारले मागअनुसार सुन उपलब्ध नगराउँदा बजारमा सुनको कालोबजारी बढ्नुका साथै अवैध रुपमा सुन आयात भइरहेको बताए । माग अनुसार सुन उपलव्ध गराउन नसक्दा अवैध रुपमा सञ्चालित सुनचाँदी व्यवसायीका कारण वैध व्यापारीहरु मर्कामा परेको उनको भनाइ छ । नेपालमा दैनिक ४० देखि ५० किलो सम्म सुनको माग भए पनि सरकारले १५ किलो मात्रै सुन उपलब्ध गराउँदा बजारमा सुनको कालोबजारी बढ्नुका साथै अवैध रुपमा सुन आयात भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्