नेजा अध्यक्षद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता

नेपाल-अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
“प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयबारे जानकारी गराए”, उनले भने । यस्तै, नेजाका अध्यक्ष न्यौपानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराएका थिए ।
“अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराए”, नेजा अध्यक्ष न्यौपानेले भने । भेटघाटका अवसरमा उनले प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनी सुर्खेतमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा भाग लिन अमेरिकाबाट नेपाल आएका हुन् । अध्यक्ष न्यौपानेले महासंघसँग समन्वय गरी नेजाले आगामी दिनमा खेल्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफलसमेत गरिसकेका छन् ।