चिसोले स्थानीयसँगै प्रहरी चौकी सदरमुकाममा

अत्यधिक चिसो, हिमपात भएपछि तीन हिमाली जिल्लाका आठ प्रहरी चौकी सदरमुकाम सारिएको छ । डोल्पा, हुम्ला र मुगुका आठ प्रहरी चौकी सदरमुकाम सारिएको हो । डोल्पामा पाँचवटा, हुम्लामा दुई र मुगुमा एकवटा प्रहरी चौकी सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले छाडेर आएपछि प्रहरी चौकीमा ताला लगाएको छ । डोल्पाका इलाका प्रहरी कार्यालय नाम्दो, इलाका प्रहरी कार्यालय तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौ, अस्थायी प्रहरी चौकी बेस राप रहेका छन् भने हुम्लामा इलाका प्रहरी कार्यालय लिमी, इलाका प्रहरी कार्यालय हिल्सा रहेको छ । त्यस्तै मुगुमा इलाका प्रहरी कार्यालय मुगु रहेको छ ।
हिमपातका कारण कर्णालीका उच्च भागका बस्ती करिब चार महिना खाली हुन्छन् । स्थानीय हिउँ नपर्ने भागतिर सर्ने गर्दछन् । नेपाल प्रहरीसँग अत्यधिक चिसो र हिउँ परेका बेला बस्ने घरदेखि ओढ्ने, ओछ्याउने र लगाउने कपडासमेत सरकारले उपलब्ध नगराएका कारण करिब चार महिना हिउँले ढाकेको स्थानमा बस्न गाह्रो हुने भएकाले सदरमुकाममा प्रहरी टोली नै सर्नुपरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
हिमपात हुनुअगावै नै प्रहरी टोली जिल्ला सदरमुकाममा सारिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । हिमाली जिल्लाका भारी हिमपात हुने ठाउँका सर्वसाधारणसमेत आफ्नो गाउँ, ठाउँ छाडेर तातो हुने ठाउँमा अस्थायी रूपमा आउने गरेका छन् ।
हिमपात हुने ठाउँमा स्थानीय सरकारको समेत सहभागिता हुँदैन । हिमपातका समयमा सम्पर्क नै टुट्ने भएकाले अधिकांश सर्वसाधारण गाउँ छोड्ने गरेका छन् । विकास निर्माणका कामसमेत ठप्प हुने गर्दछन् । वैशाखदेखि मात्र सबै काम सुचारु हुन्छन् ।