युवा व्यवसायीको बाख्रापालन «

युवा व्यवसायीको बाख्रापालन

अधिकांश नेपाली युवाको चाहना हुन्छ– पढाइ सकेपछि कुनै जागिर खाने । जागिर नपाए उनीहरू वैदेशिक रोजगारमा जान तयार हुन्छन् । तर, धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ का युवा मेघराज खतिवडा भने बाउबाजेले थालेको परम्परागत बाख्रापालन व्यवसायलाई निरन्तरता दिँदै व्यावसायिक बनाउन तल्लिन भएका छन् ।
बाउबाजेले गरी रहेको परम्परागत बाख्रापालन पेसालाई उनले व्यावसायीक बनाउन ४ वर्षअघि फर्म नै दर्ता गरेका छन् । ९ लाख रुपैयाँ लगानी गरेका उनको व्यवसाय विस्तार भएर अहिले २० लाख रुपैयाँ बराबरको भइसकेको छ । अहिले उनको फर्ममा स्थानीय र उन्नत जातका करिब दुई सय बाख्रा छन् । “खर्च कटाएर बार्षिक ३ लाख रुपैयाँ आम्दानी हुने गरेको छ,” उनले भने, “२ जनालाई रोजगारी समेत दिएकाले व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाएको छु ।” उनले सरकारले कृषि क्षेत्रलाई अझै पनि उपेक्षा गरेको गुनासो गरे । “कृषिको बजेट सडक, पुल, खानेपानीमा लगाइन्छ, यो सरकार र स्थानीय तहको कमजोरी हो,” उनले भने ।
साथीको लहैलहैमा लागेर कुनै बेला पढाइ नसकी विदेश जाने सोच बनाएका खतिवडा वैदेशिक रोजगारीबाट फर्किएका आफन्तले विदेशमा भोग्नुपरेका दुःख र त्यहाँ नेपालीले भोग्नुपरेका समस्या सुन्दा र पढ्दा नै विदेशमा गर्ने मेहनतले स्वदेश मै केही गर्न सकिन्छ भन्ने लागेर व्यावसायिक बाख्रापालन सुरु गरेको बताउँछन् । शिक्षाशास्त्र र राजनीतिशास्त्रमा एमएड र एमए गर्दै गरेका खतिवडा पढेपछि जागिर मात्रै खानुपर्छ भन्ने सोचले नै नेपाली युवालाई परनिर्भर बनाएको बताउँछन् ।
विद्यार्थी कालमा पार्टीका विभिन्न निकायमा बसेर काम गरेको बताउने उनी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । उनी व्यवसाय विनाको राजनीतिले भ्रष्टाचार निम्याउँने बताउँछन् । “राजनीतिमा आउने युवाले व्यवसाय गर्नु आवश्यक छ,” उनले भने, “युवाहरूले सानै भए पनि व्यवसाय नै गर्नुपर्छ ।” व्यवसाय सुरु गरेपछि सामाजिक प्रतिष्ठासमेत बढ्ने उनको भनाइ छ ।

_विकास घिमिरे 

प्रतिक्रिया दिनुहोस्