प्रधानमन्त्रीमा दाबी पेश गर्न सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ दफा ६२ बमोजिम गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो ।
राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गरेकी हुन् ।
अबको प्रक्रिया के ?
नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उक्त धाराको उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् ।
उक्त उपधाराअनुसार कुनै व्यक्तिले बहुमत पुर्याएमा निर्वाचनको परिणाम घोषणा भएको मितिले तीस दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था छ । त्यस्तो अवस्था नभएमा वा त्यसरी नियुक्त भएको व्यक्तिले नियुक्त भएको तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने प्रावधान छ । तर त्यसरी नियुक्त भएको व्यक्तिले पनि तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
त्यस्तो हुन नसकेमा राष्ट्रपतिले बहुमत पुर्याउने आधार पेस गर्ने प्रतिनिधिसभाको जुनसुकै सदस्यलाई प्रधानमन्त्रीको दाबी गर्ने अवसर दिनसक्ने व्यवस्था छ । त्यस्तो व्यक्तिले पनि तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । त्यस्तो व्यक्तिले पनि विश्वासको मत प्राप्त गर्न नसकेको वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने व्यवस्था संविधानमा रहेको छ ।