ताक्सुगाडको विद्युत उत्पादन क्षमता वृद्धि

ताक्सुगाड जलविद्युत आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको छ । कन्सल्टेन्टले डीपीआरको रिपोर्ट बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डीपीआर २०१६ देखि सुरु भएको थियो । डीपीआरको जिम्मेवारी डिजायड कन्सल्टेन्ट नयाँ बानेश्वर काठमाडौंले दुई वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । सात वर्षसम्म डीपीआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलामा परेको बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डीपीआरको ड्राप्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए ।
आयोजनाले उक्त ड्राप्ट अध्ययन पश्चात कन्सल्टेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ । सुरुमा चार मेगावाट विद्युत उत्पादन गर्न सकिने भनिए पनि अहिले ७.१ मेगावाट विद्युत उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इन्जिनियर पदम थापाले बताए । आयोजनाको आईई पास भइसकेको छ । नलगाड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक विद्युत उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्न लागिएको थियो ।
नलगाडको अझै डीपीआर सकिएको छैन । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डीपीआर सम्पन्न नगर्दा यहाँका स्थानीयवासी आक्रोषित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्ने भने पनि नलगाड जलविद्युत आयोजनाले उक्त आयोजना प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ ।
उत्ता ३३ केभी प्रसारण लाइनअन्तर्गत ११ केभी प्रसारण लाइनको सबस्टेसन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुने भएको छ । चौखामा निर्माण हुने उक्त सबस्टेसनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।