Logo

व्यापार घाटा नियन्त्रण गर्न हस्तकला व्यवसायको प्रवर्द्धन

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएकी छिन् । १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोही अनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले नेपाली श्रम, सीप तथा स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकला व्यवसायको संरक्षण गर्नु जरुरी रहेको बताइन् । “हालको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउने लक्ष्य प्राप्तिका लागि हस्तकलाको निकासी बढाउनु आवश्यक छ, उनले भनिन्, “हस्तकलालाई व्यापक उत्पादनका तहसम्म पुर्‍याउँदै अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै प्रचार प्रसार गरिनुपर्छ ।”

राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महँगो भए पनि खरीद गर्नुपर्ने नीति तथा सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको बताइन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला र पर्यटन क्षेत्र एक अर्काका परिपुरक रहेको र नेपाली हस्तकलाले नेपाललाई विश्वमा चिनाएको बताए । उनले हस्तकला मेलालाई वार्षिक क्यालेन्डरमा समावेश गरी अन्तर्राष्ट्रिय ग्राहक आकर्षित गर्नुपर्ने बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पुस्तालाई हस्तकलासम्बन्धी सीप र कला हस्तान्तरण गर्न प्रदेश सरकारले हस्तकला विश्वविद्यालयको अवधारणा अघि सारेको जानकारी दिए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले विदेशी बजारमा वार्षिक १२ अर्बको निकासी रहेको हस्तकला क्षेत्रले पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै टेवा पुर्‍याइरहेको बताए । मुलुकको व्यापारघाटा कम गर्न तथा स्वदेशी साधन स्रोत उपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यसलाई राज्यले नीतिगत रुपमा सहयोग गर्नुपर्ने भन्दै उनले हस्तकला क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी वार्षिक कूल ८ लाख रोजगारी सिर्जना भइरहेको तथ्यांक पेश गरे । अध्यक्ष शाक्यले यस क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा योगदान झनै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा मेला आयोजक समितिका संयोजक दिल्लीरत्न तुलाधरले हस्तकला मेलालाई अन्तर्राष्ट्रिय ट्रेड डाइरेक्ट्रीमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने मेलालाई १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा ५ वटा पेभिलियन र १३० स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्