पर्यटक रोजाइ बन्दै ज्यामिरे दह

तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा अध्ययनरत राकेश विक पहिलो पटक ज्यामिरे दहमा पुगेका थिए । दहमा पुगेपछि उनी डुंगा चढेर दह घुमिसकेपछि ज्यादै खुसी लागेको उनले बताए । “डुंगामा चढेर घुम्न पाउँदा धेरै खुसी छु,” उनले भने । डुंगामा चढ्ने आफ्नो इच्छा पूरा भएको उनले बताए । उनीजस्तै आरएन बुढा पनि डुंगा चढन पाउँदा खुसी देखिन्थे उनी पनि सार्थीहरूसँग डुंगा चढेका थिए ।
डुंगा चढेर दहमा घुम्न पाउँदा आनन्द आएको उनले बताए । उनीहरू जस्तै धेरैले पहिलो पटक डुंगामा चढन पाएको बताउने गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यको रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उप महानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन जस्तो आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।
अन्य दिनमा भन्दा बिदाको दिनमा बढी आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेको ज्यामिरे दहमा डुंगा सञ्चालन गर्दै आएका वीरजङ पुनले बताए । जिल्लाका साथै जिल्ला बाहिरबाट समेत दहमा आउने गरेको पुन बताउँछन् । उनका अनुसार दैनिक सरदर ४० जना आउने गरेका छन् । बिदाको दिन बढी भीड हुने गरेको उनको भनाइ छ । मंसिरदेखि वैशाखसम्म बढी भीड हुने गर्दछ । उनले दहमा करिब तीन वर्ष डुंगा चलाइरहेका छन् । डुंगाबाट मासिक १५ हजार आम्दानी हुने गरेको उनी बताउँछन् ।
दहको करिब १२ बिगाहामा पानी रहेको उनी बताउँछन् । दह १ सय २० मिटर गहिरो रहेको उनले बताए । दहको वरिपरिको क्षेत्रफल करिब पाँच किलोमिटर रहेको छ । ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउनका लागि डुंगा सञ्चालन गरिएको छ भने पानीमा पौडन मिल्ने लाइफ ज्याकेटको समेत व्यवस्था गरिएको छ । पछिल्लो समयमा डुंगा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खानका लागि दैनिक रूपमा नागरिक उक्त स्थानमा पुग्ने गरेका छन् ।
प्राकृतिक रूपमा रहेको तालको स्तरवृिद्ध गरी ड्याम निर्माण गरिएको छ । दह निर्माण भएसँंगै दहको सौन्दर्य हेर्न लायक बनेको पर्यटकहरू बताउँछन् । ताल अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालन गरिएको हो । डुंगा सञ्चालकका अनुसार बिदाको समय तथा चाडपर्वको समयमा डुंगा सयर गर्नेको घुँइचो हुने गर्दछ । डुंगा सयर गरेवापत एक जनाको ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । डुंगामा घुम्नका लागि १५ मिनेटदेखि ४० मिनेटसम्म लाग्ने गरेको वीरजङ बताउँछन् । ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढ्न थालेको छ ।
घोराही उप महानगरपालिका–१३ कमलघारी निवासी गीता नेपालीले चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएकी छन् । आम्दानीसमेत राम्रै हुने गरेको उनी बताउँछिन् । दहमा दाङसहित बुटवल, नेपालगन्ज, बर्दियाबाट पर्यटक आउने गरेको उनको भनाइ छ । माघे संक्रान्ती तथा बिदाको समयमा बढी पर्यटक आउने भएकाले व्यापार पनि राम्रो गरेको उनी बताउँछिन् ।
दहको विकासका लागि प्रतिक्षालय, खानेपानीको व्यवस्था भए सहज हुने स्थानीयवासी टीकाराम गिरि बताउँछन् । प्रतिक्षालय नहुँदा घाम तथा पानीमा बस्न समस्या छ । “यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्,” गिरिले भने । व्यवस्थित गरेर विकास गर्नसके राम्रो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ छ । यसका लागि योजना बनाएर विकास निर्माणका काम गर्नुपर्ने गिरी बताउँछन् । यसको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले ध्यान दिनुपर्ने उनकोे तर्क छ ।