प्रत्यक्षतर्फ चुनिए १६५ सांसद

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रकै मतपरिणम आइसकेको छ । उक्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ ।
नेकपा (एमाले)ले ४४, नेकपा ( माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा) ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजुदुर किसान पार्टी १, जनमत पार्टीले १ सिटमा जित निकालेका छन् ।
देशभर प्रत्यक्षतर्फ ५ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । ४ मंसिरमा भएको निर्वाचनको समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको छ । तीन वटा क्षेत्रको गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभामा पनि कांग्रेस पहिलो
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् ।
प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।