Logo

चालू आर्थिक वर्षको चार महिनाको लक्ष्य पूरा भएन

आयात प्रतिबन्धको असर भन्सार राजस्वमा

वैदेशिक मुद्रा सञ्चिति नियन्त्रणका लागि सरकारले महंगा वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धले भन्सार राजस्व प्रभावित भएको छ । आयातकर्ताले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान र विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धकै कारण चालू आर्थिक वर्षको चार महिना लगातार वीरगन्ज नाकाका भन्सारमा राजस्व असुलीमा गिरावट आएको हो ।

वीरगन्जका तीनवटै भन्सराहरु वीरगन्ज, एकीकृत भन्सार जाँच चौकी (आईसीपी), सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयात कम हुँदा भन्सार राजस्व असुलीमा पनि कमी आएको हो । कार्यालयको तथ्यांक अनुसार वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने सवारी साधन, लगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व संकलनमा ह्रास आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आवको पहिलो चौमासिकको तुलनामा चालू आर्थिक वर्षमा इन्धन आयातमा ७४ प्रतिशत र सवारी साधान अयातमा ७९ प्रतिशतले राजस्व संकलनमा कमी आएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संलन गरेको छ । चालू आर्थिक बर्षको साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले ८५.५ प्रतिशत अर्थात १२ अर्ब ९८ करोड ९९ लाख संकलन गरेको छ ।

यो लक्ष्यको १ एक अर्ब २१ करोड सात लाख कम हो । गत आर्थिक वर्षको सोही अवधिमा भन्सार कार्यालयले लक्ष्यको ९९.५ प्रतिशत राजस्व संकलन गरेको थियो । भदौ महिनामा १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच अर्ब १५ करोड २० लाख कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख मात्रै संकलन गरेको छ । प्रतिशतमा यो ७३ प्रतिशत मात्रै संकलन भएको देखिन्छ । गतवर्ष सोही अवधिमा ११३ प्रशित राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

त्यस्तै चालू आर्थिक बर्षको असोजमा ५७.१ प्रतिशत १२ अर्ब ४९ करोड ३८ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको नौ अर्ब ३८ करोड ९४ लाख कम हो । असोज महिनामा भन्सार विभागले २१ अर्ब ८८ करोड ३३ लाखको लक्ष्य दिएको थियो । कात्तिक महिनामा पनि भन्सार कार्यालयको राजस्व संकलन सन्तोषजनक रहेको छैन । कात्तिक महिनामा २१ अर्ब ६५ करोड ४२ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा कार्यालयले ५९.७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कात्तिक महिनामा पनि ८ अर्ब ७२ करोड ९५ लाख कम अर्थात् १२ अर्ब ९२ करोड ४६ लाख मात्र संकलन भएको छ । लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो ।

नेपाल राष्ट्र बैंकले ल्याएको प्रावधान र सरकारले लिएको नीतिका कारणले व्यापारमा आएको गिरावटले राजस्व संकलनमा पनि कमी आएको व्यापारीहरुले बताएका छन् । राजस्व संकलनमा आएको निराशाजनक तथ्यांकले देशको अर्थतन्त्र संकटपूर्ण रहेको भन्दै यहाँका निजी क्षेत्रहरुले चिन्ता व्यक्त गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले संस्थागत रुपमा नै राष्ट्र बैंकले लिएको नीतिमा संशोधन सहितको सुझावहरु पेश गरेर व्यापार व्यावसायलाई सहजीकरण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्