महिला र दलितको संसद्मा कमजोर उपस्थिति

प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १ सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १ सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् । एमालेबाट कास्की क्षेत्र नं. २ बाट नेकपा (एमाले)की केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं. ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं. ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका छन् ।
दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्मा निर्वाचित भएकी छन् । तेह्रथुमबाट कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएकी छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित भएकी गुरुङ एक्ली महिला हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की र सोबिता गौतम निर्वाचित भएका छन् । कार्की ललितपुर क्षेत्र नं. ३ र गौतम काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित भएकी छन् । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकजना मात्रै छन् । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।
२०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा ६ सय एक जनामध्ये ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झर्यो ।
जसमध्ये दुई जना नेकपा (एमाले) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (छ प्रतिशत) दलितको प्रतिनिधित्व भयो । एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।