Logo

कर्णाली सरकार गठनमा केन्द्रको मुख ताक्दै

कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषण नहुँदै सरकार गठनका विषयमा शीर्ष नेताहरुलाई भेटनेको लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश समितिले गरेको निर्णय केन्द्रले नमान्ने भएकाले केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कर्णालीमा सरकार बनाउने छन् ।

कर्णाली प्रदेशसभाका समानुपातिक बाहेक प्रत्यक्ष तर्फका सबै प्रदेशसभा सदस्यहरु निर्वाचित भइसकेपछि कर्णालीमा पहिले कुन दलले नेतृत्व लिने भन्ने कुराको मसिनो गरी चर्चा चल्न थालेपछि शक्ति केन्द्र धाउन सुरु भएको हो । काँग्रेस ठूलो दल भएपछि काँग्रेसले आफ्नो नेतृत्वमा सरकार दाबी गर्ने चर्चा चलिरहेको छ ।

उसो त सत्ता गठबन्धनको अर्को मुख्य हिस्सा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि काठमाडौँमा नेताहरुको भेटघाट तीव्र बनाएको छ । एक सिट प्रत्यक्षमा जितेको काँग्रेस यो भन्दा अगाडि कर्णालीमा सरकार चलाएको इतिहास भएकाले आलोपालो सरकार चलाउने कुरामा सहमत हुनुपर्ने नेताहरुको तर्क रहेको छ ।

कर्णाली प्रदेशमा फेरी पनि जीवनबहादुर शाही नै मुख्यमन्त्री बन्नुपर्ने केही काँग्रेसका नेताहरुको तर्क समेत रहेको छ । माओवादी र काँग्रेसका नेताहरु काठमाडौँमा केन्द्रित हुन थालेका छन् । माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत सोमबार, काँग्रेसका उपसभापति पूर्णबहादुर खडका मंगलबार काठमाडौँ गएका छन् ।

त्यस्तै माओवादी कर्णालीकी अध्यक्ष विमला केसी समेत काठमाडौँ पुगिसकेकी छिन् । मुख्यमन्त्रीसहित आठ मन्त्रालय कर्णालीमा रहेको छ । समानुपातिक तर्फको सिटको घोषणा नभएपनि दलहरुले प्राप्त गरेको मतका आधारमा काँग्रेसका १४, माओवादीका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एसको एक/एक सिट भागमा पर्नेछ । उत्ता उप-महासचिव शक्तिबहादुर बस्नेतले कर्णालीमा सरकार गठनका विषयमा कुनै छलफल सुरु नभएको बताए ।

उनले यो बताएपनि नेताहरुको काठमाडौँ दौडधुपले मुख्यमन्त्री कसको पोल्टामा पार्ने भन्ने विषयमा लबिङ तीव्र चलिरहेको छ । काँग्रेसका उपसभापति खड्काले जुनसुकै हालतमा पनि काँग्रेसले कर्णाली सरकारको पहिलो नेतृत्व गर्नुपर्ने अडानका साथ काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको र सोही अनुसार तयार हुन जानकारी दिएको काँग्रेस वृतमा छलफल चलिरहेको छ ।

उत्ता अर्थमन्त्री जर्नादन शर्माले रुकुम पश्चिमबाट आफ्ना नातेदार राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेको माओवादीका एक नेताले बताए । काँग्रेस र माओवादी दुई ठूला दलबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा शीर्ष नेतालाई प्रदेशका नेताहरुले दाबी पेश गरेका छन् । देउवा र दाहालबीच प्रदेश सरकार गठनका विषयमा केही छलफल समेत भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्