वर्षदिनमा साढे सात लाख करदाता थपिए «

वर्षदिनमा साढे सात लाख करदाता थपिए

यसवर्षको कर दिवस ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ नाराका साथ मनाइने भएको छ । करदाता आफैंले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले बताए ।
“कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री बनाउने र दर्तादेखि अन्तिमसम्मको काममा करदाता भौतिकरुपमा उपस्थित हुन नपर्ने अवस्था बनाउन काम काम गरिरहेका छौं,” उनले भने । उनका अनुसार कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल (टाडाट) र जर्मन सहयोग नियोगको सहयोगमा विजनेस प्रोसेस इञ्जिनियरिङ (बिपिआर) गरिरहेको छ ।
विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय छन् । विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।
०७८ असार मसान्तसम्ममा यस्तो संख्या ४० लाख ४९ हजार एक सय नौ थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै सात लाख ६३ हजार ६ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको संख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ ।
व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता छन् । गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान)तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदाता करको दायरामा ल्याइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्