Logo

उपल्लो डोल्पाको स्वास्थ्य सेवा : आम्ची र भगवान् भरोसा

उपल्लो डोल्पाको स्वास्थ्य सेवा आम्चीकै भरमा चल्दै आएको छ । तीनवटा पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँ उपचार हुँदै आएको छ ।
शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीनवटा संस्था रहेका छन् । १ देखि ४ नं वडाका बासिन्दालाई सालदाङ, ५, ६, ७ वडा नंका लागि भिजेर र ८ र ९ नम्बर वडाका लागि फोक्सुण्डोमा स्वास्थ्यचौकी रहेका छन् । सालदाङमा मात्र अहिले एकजना स्थानीय स्वास्थ्यकर्मी छन् भने अन्य ठाउँमा हिमपातका कारण जान कठिन छ ।
सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको सस्थ्यकर्मी निमा धार्गे गुरुङले बताइन् । स्वास्थ्यकर्मीले दिएको सेवा समेत यहाँका स्थानीय बासिन्दालाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताइन् । दुनैबाट औषधि लिनसमेत मुस्किल हुँदै गएको छ । प्रतिकिलोको रु १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताइन् ।
एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिनभित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिनसमेत हैरानी भएको उनको भनाइ छ । खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्दछ । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा दुईवटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ । आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे ।
गाउँपालिकामा कर्मचारी आउनै नमान्ने गरेको उनको दुखेको छ । सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवती घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए । आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुईवटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ का लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्य संस्थाले सेवा दिने गर्छन् । त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ । मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन् । तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए । हिमपात छ कसरी जानु ? उनले प्रश्न गरे ।
कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए । मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंक समेत बसेको उनले बताए । गाउँपालिका भरी अघिल्लो वर्ष एक जनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए । सबै यहाँका गर्भवतीहरू आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्ता समेत नपाउने गरेका छन् । नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
उता आम्चीहरूले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन् । आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकाले स्वास्थ्यकर्मी नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीको भनाइ रहेको छ । एक गाउँमा एक आम्ची हुने गरेको उनले बताए । उपल्लो डोल्पाको तीनवटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच्नदेखि सुत्केरी हुने संख्या शून्य रहेको छ ।
ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन् । एक वडाबाट अर्को वडामा जानका लागि दिनभरि लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।
ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ । जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पाभन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ ।
कर्णाली प्रदेशको सबैभन्दा बढी हेलिकप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा पहिलोमा पर्दछ । यहाँका महिलालाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन् ।
के हो आम्ची उपचार विधि ?
हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा हजारौं वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् ।
आम्चीहरू जडिबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् । पुस्तौदेखि जडिबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउँछन् । ती जडिबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ ।
अहिले आयुर्वेद जोडिएका औषधि र सौन्दर्य प्रशाधनले लोकप्रिय बनेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ । पुरातन पद्धतिमा टेकेर जडिबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीय बताउँछन् । हिमालयन आम्ची एशोसिएसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्