Logo

मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुन: मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थागन गरेको भएपनि आयोगले यस पटक भने १८ कात्तिकदेखि नै मतदाता शिक्षा सुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए । अर्यालले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि बताए ।
“मतदाता शिक्षा निर्देशिका शिक्षा २०७९ निर्माण गरेर निर्देशिकाले समेटेका विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्नेगरी आयोगले मतदाता शिक्षा सामग्रीहरु छपाई गरेर वितरण गर्ने योजना अनुसार गाउँ टोलहरुमा वितरण भइरहेको छ” उनले भने, “विभिन्न रेडियोहरुमा अडियो प्रचार सामग्री बनाएर प्रशारण भइरहेका छन् । टेलिभिजनहरुमार्फत निर्वाचन शिक्षा सामग्रीहरु भिडियोमा प्रशारण भइरहेका छन् ।”
सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताए । उनले एक महिना अगाडिबाटै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकामा पुर्‍याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था गरेकोसमेत बताए । उनले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए । सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको बताए ।
“सबै पालिकाहरुमा मतदाता शिक्षा समग्री पुगेको छ । अहिले ६ हजार ७५३ वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ” उनले भने, “स्थानीय तहको मातहतमा रहेर मतदाता कार्यकर्ता मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएका छौं ।”
उनले आयोगले उम्मेद्वारलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताए । उनले राजनीतिक दलमा उम्मेद्वारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताए । प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेब साइडमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन दल र उम्मेदवारलाई उनले आग्रह गरे ।
विगतका निर्वाचनमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्युनिकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्