कर्णाली राजमार्गमा १५ प्रतिशत भाडा वृद्धि

असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरो अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि खुलेसँगै मालबाहक तथा यात्रुबाहक सवारी गुड्न थालेका छन् । राजमार्गमा सञ्चालनमा आएसँगै यात्रु बाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाडा असुलेका छन् ।
दसैं तिहार मनाउन घर आएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनु पर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को भाडा असुलेपछि जनगुनासो बढेको थियो । हवाई यात्रा पहुँचमुखी भएकाले एकै सय रुपैयाँको संख्यामा सडकको यात्रा गर्न थालेपछि व्यवसायीले मौका छोपेका हुन् ।
मनपरी चर्को भाडा असुलेको गुनासोपछि जुम्लामा नयाँ भाडादर निर्धारण गरिएको छ । गत साता जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रु बाहक सवारी साधनहरूको भाडा दर १५ प्रतिशत वृद्धि गर्ने सहमति भएको छ ।
तत्कालका लागि अर्को व्यवस्था हुन्जेल सम्म विगतमा कायम भएको भाडामा १५ प्रतिशत बृद्धि गरिएको हो । यदपी सरकारी मापदण्डमा पहाडी क्षेत्रमा १० प्रतिशतभन्दा मापथ भाडा बृद्धि गर्न नपाइने प्रावधान छ । जसका कारण यातायात व्यवसायीले भाडा नघटाउने अडान राखेपछि विगतको भाडामा १५ प्रतिशत मात्रै वृद्धि गर्ने लिखित नभई मौखिम सहमति भएको छ ।
जुम्ला, कालिकोट र सुर्खेत, नेपालगन्ज र काठमाडौंको नयाँ भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले बताए । उनले भने, “गत वर्ष तोकिएको भाडामा १५ प्रतिशत वृद्धि भएको हो भने नेपाल सरकारले निर्धारण गरेकोे भाडा दरमा अहिलेको बजार मूल्यलाई आधार मानी १५ प्रतिशत बढाएका छांै । यसले व्यवसायीलाई पनि घाटा नहुने र यात्रु पनि मर्कामा नपर्ने देखिएको छ । हाल तिर्दै आएको भाडामा दूरी अनुसार ५ सयसम्म कम पर्न जाने छ ।”
कहाँको भाडा कति ?
१५ कात्तिकको सर्वपक्षिय भाडादर निर्धारणले अझै आफूलाई घाटा हुने तिला कर्णाली यातायात प्रालिका इन्चार्ज मिनबहादुर थापाले बताए । उनले अनुसार भाडा घटाउने तिर मात्र नभई इन्धनको मूल्य घटाउन र व्यवसायीको मर्का बुझ्नतर्फ पनि ध्यान दिन सुझाव दिए ।
बैठकको सहमति अनुसार जुम्ला–सुर्खेतसम्मको १ हजार २ सय ८३ रूपैयाँ भाडा दरमा १५ प्रतिशत वृद्धि गरी १ हजार ४ सय ७५ रूपैयाँ पुर्याइएको छ । यो भन्दा पहिला १६ सयदेखि १८ सयसम्म थियो । जसमा मिनी बस र हाइसको १ हजार ५ सय ७० रूपैयाँलाई बढाएर १ हजार ८०५ रुपैयाँ कायम गरिएको छ । जिपको लागि १ हजार ८४५ रूपैयाँको भाडा बढाएर २ हजार १ सय २१ भाडा पुगेको उनको भनाइ छ । जुम्ला–नेपालगन्ज जीपले ३० हजार लिँदै आएकोमा २६ सय कायम भएको छ ।
प्रमुख महतका अनुसार जुम्ला काठमाडौका लागि ४ हजार भाडा लिने गरेको बसको भाडा दर ३ हजार २ सय २० कायम भएको छ । नागरिकले अटोरिक्सा, जिप, हाइसरमिनिबस, बसलगायतका सवारी साधनने निर्धारण भएको भाडादर कार्यान्वयन गरे नगरेको अनुगमन हुने प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।
आफूखुसी महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दरमा हेरफेर गरिएकाले कार्यान्वयन गरी सेवामुखी हुन प्रजिअ केसरीले यातायात व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
जुम्लादेखि मुगु, र जिल्ला भित्रका विभिन्न ठाउँको भाडा पनि १५ प्रतिशतले वृद्धि भएको छ । यद्दपि भाडा वृद्धि हुँदा पनि नागरिकले विगतमा तिर्दै आएको भन्दा करिब २ सयदेखि ५ सयसम्म कम तिर्नुपर्ने छ ।