दशकदेखि गाउँमै व्यावसायिक माछापालन

गाउँमा रोजगारी नभएको नगन्य मात्रामा नेपाली युवा खाडी मुलुक तथा भारतमा कामको खोजीमा जाने गरेका छन् । गाउँमा सम्भावना नदेख्ने र गाउँमा इलम गर्न लाज मान्ने प्रवृत्तिका कारण रोजगारी खोज्न पलायन हुने युवाको संख्या बढ्दो छ ।
एकातर्फ तीनै तहका सरकारसँग रोजगारी सृजनाको ठोस नीति नहुनु र अर्कोतर्फ शिक्षित युवाहरु नै गाउँघरमा इलम गर्न, व्यापार व्यवसाय, कृषि उद्यमशिलता गर्न हिचकिच्याउने प्रवृत्तिले गर्दा बेरोजगारीको समस्या चुलिँदै गएको छ । अझ बेरोजगारीको समस्या कर्णाली प्रदेशमा बढी छ । गत आर्थिक वर्षको आर्थिक सर्वेक्षणको रिपोर्ट अनुसार कर्णालीको बहुआयामिक गरिबी १२ प्रतिशतले घटेर ३९ प्रतिशत पुगेको छ ।
तथ्यांकीय रुपमा हेर्दा गरिबी घटेको छ । यस अर्थमा कर्णालीका युवा युवतीको रोजगारी दर बढेको हुनु पर्नेहो । तर वास्तविक रुपमा रोजगारी बढेको देखिँदैन । अझै दसैं तिहार मनाइसकेपछि हजारौको संख्यामा कर्णालीबाट कमाउन कालापहाड जाने गरेका छन् । त्यहि रुपमा खाडी मुलुकमा जानेको सख्या पनि अत्यधिक छ ।
तर संघीयतापछि बेरोजगारी अन्त्यका लागि उल्लेखीय काम हुन नसकेको अवस्थामा जुम्ला तातोपानी गाउँपालिका ४ का ददिमने सार्की विगत एक दशकदेखि गाउँमै व्यावसायिक माछा पालन गरेर मनग्य कमाउँदै आएका छन् । परीक्षणका रुपमा गरिएको माछा पालन सफल भएपछि सार्की माछा पालनमा आकर्षित भएका हुन् । गाउँमै रोजगाी सृजनासँगै मनग्य आम्दानी गर्दै आएका सार्की दशकदेखि माछा पालनमा रम्दै आएका छन् ।
सदरमुकाम खलंगादेखि करिब १५ किमि टाढा दुर्गम खिडिखोला गाउँमै उनी माछा पालन गरि आम्दानी गर्दै आएका छन् । गाउँमा माछाको माग बढ्दो छ । माछा पालनबाटै परिवार चलेको छ । आम्दानी पनि राम्रो छ । गत आवमा माछा पोखरी निर्माण गरेपनि स्टमेट अनुसार काम नभएको भन्दै तातोपानी गाउँपालिकाले नदिएको गुनासो गरे । गाउँमै गरेको उद्यमशीलाई प्रोत्साहन गर्ने ठाउँमा पूर्वाधार निर्माण गरेको पनि बजेट भुक्तानी नदिएको दुखेसो पोखे ।
जुम्ला सदरमुकामदेखि विभिन्न स्थानीय बजारमा लिएर बेच्ने गरेको उनको भनाइ छ । गाउँमै पुगेर माछा लिनेलाई सहुलियत मूल्यमा समेत दिने गरेका छन् । गाउँमै प्रतिकेजी ५ सयदेखि एक हजार रुपैयाँसम्म माछा बिक्री भइरहेको छ । सिजनमा माछा बिक्रीबाट मासिक १० हजार रुपैयाँसम्म आम्दानी भइरहेको सार्कीले बताए । कात्तिकदेखि वैशाख जेठसम्म माछा बिक्री हुने गरेको छ ।