संघको ९ प्रदेशको ५ प्रतिशत विकास बजेट खर्च
सुरु भएन विकासको काम

जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदा समेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन ।
अहिले जिल्लामा विकास निर्माणका लागि आएको वजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म संघीय सरकारतर्फ विकास बजेट ९ प्रतिशत खर्च भएको छ भने चालुतर्फ २७ प्रतिशत खर्च भएको कार्यालयका प्रमुख एवम प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए । प्रदेश सरकारतर्फ विकास बजेट ५ प्रतिशत र चालु तर्फ ९ प्रतिशत खर्च भएको उनले बताए । चालु तर्फ बढी खर्च देखिनुको कारण संघिय सरकार तथा स्थानिय सरकारले स्थानिय तहहरुलाई दिने विभिन्न अनुदानको रकम त्यसैबाट जाने भएकाले बढी खर्च भएको उनको भनाइ छ ।
पहिलो चौमासिकसम्म यस प्रकारको खर्चलाई नराम्रो भन्न नमिल्ने उनले बताए । “अहिलेको खर्चको अवस्थालाई नराम्रो नै भन्न मिल्दैन” उनले भने । पहिलो चौमासिकको अवधीमा नया योजनाहरु ठेक्का आह्वान गर्ने भएकाले कम खर्च हुने गरेको उनी बताउँछन् । दोस्रो चौमासिकबाट योजनाहरुको काम सुरु हुने भएकाले खर्च पनि बढ्ने उनी बताउँछन् । यसरी विकास बजेट खर्च हुन नसक्दा रकम जाम हुने तथा नागरिकले रोजगारीको अवसर समेत पाउँदैनन् ।
आर्थिक वर्षको सुरुवातमा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणको काम गर्ने विगतका वर्षहरु देखि हुँदै आएको छ । आर्थिक वर्षको अन्तिम समयमा गएर योजना सम्झौता गरेर हतारमा काम गर्दा गुणस्तरहिन काम समेत हुने गरेको छ । जनप्रतिनिधिहरु आएपछि यस प्रकारको समस्या समाधान हुने अपेक्षा गरेर पनि त्यसो हुन सकेको छैन । स्थानीय तहहरुमा जन प्रतिनिधि निर्वाचित भएर आएको लामो समय भएपनि प्रवृत्ति भने उस्तै दोहोरिएको छ । मंसिरका चुनाव भएको कारण चुनाव पछि मात्रै विकास निर्माणका काम सुरु हुने विकासका जानकारहरु बताउँछन् ।
स्थानीय तहहरुले उपभोक्तालाई योजना सम्झौता गर्न आउन भने पनि अझै योजना सम्झौता गर्न आएका छैनन् । तुलसीपुर उप–महानगरपालिकाले पनि उपभोक्तालाई योजना सम्झौता गर्न आउनका लागि आग्रह गरेको तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । उप– महानगरपालिकाको नयाँ योजना भन्दा पनि अघिल्लो आर्थिक वर्षका योजनाहरु बढी रहेको बताइएको छ । सशर्त सहितका योजनाहरुको सम्भौता गर्न तथा ठेक्का प्रक्रियामा जाने तयारीमा उप–महानगरपालिका रहेको उनले बताए ।
घोराही उप–महानगरपालिकाले उपभोक्ताहरु योजना सम्झौता आउन सुरु गरेको जनाएको छ । नगरबासीहरु उपभोक्ता समिति गरेर सम्झौता गरेर आउन सुरु गरेको घोराही उप–महानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिए । “केही उपभोक्ताहरु आफ्नो क्षेत्रमा परेका योजनाहरुको सम्झौता आउन सुरु गर्नुभएको छ” चौधरीले भने । अधिकांश उपभोक्ताहरु चाडपर्व सकिएपछि योजना लिन आउने गरेको उप–महानगरपालिकाले जनाएको छ ।
बबइ गाउँपालिकाले योजना सम्झौताको तयारी थालेको जनाएको छ । छिट्टै नै योजना सम्झौताको काम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले जानकारी दिए । उपभोक्तालाई योजनाको कार्यान्वय गर्नका लागि तालिम दिने तयारी भएको पालिकाले जनाएको छ ।