Logo

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि

तिहारमा प्र्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ ।
तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद सुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए । उनले आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताए । पोखरलले नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताए । उनले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताए ।
पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिव ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिव ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताए । उनले कोभिड भन्दाअघि २०७६ सालमा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए ।
महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यवसायीले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइ नपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको बताए । उनले तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको बताए । पोखरेलले सामान आयात गर्न प्रतितपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको बताए ।
विद्युतीय व्यापारीहरुले ग्राहकको माग अनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन् । नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ ।
क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघको भनाइ छ । तिहारमा बजारमा सबैभन्दा धेरै एलइडी लाइट, एलइडी डिस्को लाइट, एलइडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्