Logo

एभरेष्ट बैंकले मनायो २८औँ वार्षिकोत्सव

एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
बैंकमा डिजिटल बैंकिङ प्रवद्धन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो । शनिबार बिहान ७:३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुन: लाजिम्पाट आएर समापन भएको थियो ।
सो कार्यक्रमको उद्घाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङको विषयवस्तु पूरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकले कुनै पनि समय र स्थानबाट बैंकिङ सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइट टपअप, क्यूआर भुक्तानी लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताए ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् । साथै, देशैभरी १२० शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ एटीएममार्फत बैंकले सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्