Logo

‘प्रतिस्पर्धी उम्मेदवारमाथि नेता केसीको कटाक्ष’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आगामी चुनाव जित्नुनै आफ्ना लागि पहिलो महत्वपूर्ण कुरा भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काठमाडौंवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिएका हुन् ।
उनले मतदातालाई जिल्ला पठाउँदा अन्य पार्टीका मानिसहरु पनि त्यही हुलमा मिसिनसक्ने भन्दै सचेत रहन आग्रह गरे । उनले नामै किटान गरेर नेकपा एमालेका कार्यकर्ताहरु पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जानसक्ने आरोप लगाए । उनले आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको भन्दै यसवर्ष गठबन्धन भएका कारण एउटाले अर्कालाई नचिन्ने नाममा गठबन्धनको सवारीसाधन प्रयोग गरी नेकपा एमालेका मतदाताहरु जिल्ला पुग्नसक्ने बताए । उनले वि.सं.२०६४ मा नेकपा (माओवादी केन्द्र) ले पनि काँग्रेसले पठाएका मानिसको हुलमा आफ्ना कार्यकर्ता पठाएका कारण आफूले निर्वाचनमा पराजय व्यहोर्नुपरेको बताए ।
उनले भने, ‘हाम्रा तीनै दलका शुभचिन्तक मतदातालाई हरेक गाउँका सम्पर्क समितिका अध्यक्षलाई समन्वय गरी मंसिर ४ गतेभन्दा अगाडि भोट हाल्नका लागि यहाँबाट तपाईंहरुले पठाइदिनुपर्छ । यो भेलाले पुग्दैन । किनभने चुनाव जित्ने पहिलो कुरा हो । तर, मतदातालाई पठाउँदा के विचार गर्नुपर्छ भने घुसपैठ होला, सबै काँग्रेस भन्लान्, काँग्रेसले माओवादी माओवादीले कांग्रेस चिन्दैन । त्यो भित्र एमालेले आफ्ना मान्छे पठाउन सक्छ । यो मेरो अनुभव छ । एक पटक कांग्रेसका पठाएको भनेको माओवादी चलाख सबै माओवादीका परेछन् । परिणाम मैले हारेँ । प्रश्न चुनाव जित्नु हो ।’
सोलुखुम्बु जिल्लाबाट गठबन्धनको बलमा उम्मेदवारी दिएका नेता केसीले नेकपा एमालेबाट सोलुखुम्बु जिल्लामा उम्मेदवारी दिनुभएका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्नु नहुने बताए । उनले एमाले उम्मेदवार राईले सिंहदरबार कहाँ छ ? भनि सोध्नुपर्ने स्थिति रहेको बताए । उनले एमाले उम्मेदवार राई आफैँ बलबहादुर केसीसँग कहाँ जित्नु भनेर हिँडेको आरोप लगाए । उनले आफूलाई सिंहदरबारमा कहाँ ढुकुटी छ र कहाँ फाइल छन् भन्नेकुरा सबै थाहा भएको तर नेकपा एमालेका उम्मेदवारको केन्द्रसँग कुनै लिंक नभएको भन्दै आफूलाई जिताए जिल्लामा विकास निर्माणले गति लिने बताए । उनले बहुमतको सरकार बनाउँदासमेत नेकपा एमालेले प्रदेश १ को नामाकरण गर्न नसकेको भन्दै एमालेलाई जिताउनु नहुने बताए ।
उनले भने, ‘एमालेलाई किन जिताउने १ नम्बर प्रदेशको नाम नै राख्न सकेन । मुख्यमन्त्री भए नाम राख्न सकेका छैनन् । केही गर्न नसक्नेलाई पठाएर केही हुनेछैन । नेपाली कांग्रेस र गठबन्धनलाई केन्द्रमा जिताउनु भयो भने सिंहदरबार कहाँ छ, कुन कोठामा ढुकुटी छ, कुन कोठामा फाइल छ मलाई थाहा छ, निकालेर ल्याएर सोलुका जनताका लागि सेवा गर्छु । हाम्रो एमालेका नेतालाई पुतली सडकमा गएर ए दाजु कता हो सिंहदरबार भन्नुपर्ने अवस्था छ । उनीहरुले त्यस्तो नेतृत्व अघि सारेको छ । उहाँलाई केन्द्रको केही थाहा छैन । बलबहादुर दाईसँग के जितिन्छ र नलडिकन पनि भएन भन्दै हिँड्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्