Logo

आयोगको निर्णयले उम्मेदवारमा भूकम्प जाने थपलियाको दाबी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रबार प्रदेश १ मा आयोजित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन् ।
उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरुमा भूकम्प जान सक्ने आशंका व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लंघन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताए । उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्