गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए । उनले राजावादीहरू आफूहरूलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उहाँले आफूहरू राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनै पनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले भने, ‘अहिलेका लागि गठबन्धनको खिलापमा ठूलो तागत लागिरहेको छ । राजावादी तागत निकै राष्ट्रवादी हुँ भन्न थालिसके । हद हुन्छ नि । राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन । राष्ट्रवादी पनि हामी हौँ । प्रजातन्त्रवादी पनि हामी हौँ । समाजवादी पनि हामी हौँ । लाल सलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हाँै । यो गठबन्धनलाई कुनैपनि बाहानामा एक अर्का पार्टीकाप्रति शंका, उपशंका गर्ने काम नगरौँ । एकले अर्कालाई विश्वास दिलाउन लाग्नुपर्छ । गठबन्धन टुटाउन खोज्छन्, हामीलाई कुनै पनि भ्रम हुनुहुँदैन । सबै साथीहरूलाई मेरो अनुरोध छ, कुनै पनि हालतमा भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन नत्र हामीलाई नै सबभन्दा बढी नोक्सान हुन्छ । त्यो हामीले देखिसकेका छौँ । अहिलेको लागि गठबन्धन अपरिहार्य छ । आवश्यक छ । भोलिको दिनमा पनि गठबन्धनकै सरकार बन्ने हो । अनिमात्र आएको प्रजातन्त्र, गणतन्त्र, समावेशिता लगायतका सबै कुराहरू स्थापित गर्नसक्छौँ । सबैलाई म के अनुरोध गर्छु भने हामी एक भएर जाऔँ । कुनै किसिमका शंका, उपशंकाका काम हामी नगरौँ ।’
उनले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली कांग्रेसको कर्तव्य हुने बताए । समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।