आन्तरिक आयस्रोतबाट करार कर्मचारीको तलब वृद्वि

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब वृद्वि गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयस्रोतबाट तलबभत्ता पाउने करारका कर्मचारीको १ साउनदेखि लागू हुने गरी १५ प्रतिशत तलब वृद्वि गर्ने निर्णय गरेको हो ।
स्थानीय सरकारले तलब वृद्वि गर्ने निर्णय गरेपछि करारमा कार्यरत कर्मचारी खुसी भएका छन् । स्थानीय सरकार निर्माण भएको पाँच वर्षसम्म विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब वृद्वि नभएपछि कर्मचारीहरू निराश बनेका थिए । तलब वृद्वि भएपछि करारका कर्मचारीले काम गर्ने उत्साह थपिएको कर्मचारी अविनाश महतोले बताए ।
“करारका कर्मचारी पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाइ नहोस् भनेर अहोरात्र खटिँदै आए पनि तलब वृद्वि हुन सकेको थिएन । सरकारले बजेट भाषणमार्फत वर्षेनी स्थायी कर्मचारीको तलब वृद्वि गर्दै आएका थियो,” उनले भने ।
स्थानीयस्तरमा महँगी अत्यधिक वृद्वि भएका कारण करारमा कार्यरत कर्मचारीलाई घरखर्च चलाउन धौधौ पर्दै आएको अर्का कर्मचारी दिनेश साह बताउँछन् । “हामीहरूको तलब वृद्वि नहुँदा हामीमाथि विभेद हँुदै आएको महसुस गर्दै आएका थियौं,” उनले भने । तलब वृद्वि भएपछि काम गर्ने मनोबल बढनुका साथै जीवीकोपार्जनमा समेत सहज हुने उनको भनाइ थियो । स्थायी तथा अस्थायी दुवै प्रकारका कर्मचारीलाई गाउँपालिकाले समान व्यवहार गर्न, तलबभत्ता तथा सुविधामा भएको विभेद हटाई समान व्यवहार देखाउन करारका कर्मचारीलाई तलब वृद्वि गर्ने निर्णय गरेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।