Logo

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाहीको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने भएको हो ।
बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए । आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारहरुलाई आग्रह गरे । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोही उम्मेदवारलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए । उनले ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए ।
निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वार्ता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए । उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको जानकारी दिए । उनले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिताा उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए । निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहिता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।
भक्तपुर–२ का उम्मेदवार थापालाई स्पष्टीकरण
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ ।
थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको र सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो । थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिकस्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिता विपरीत हुने गरी उक्त कार्य किन गरिएको हो भनी सोधिएको छ ।
यसैगरी आयोगले काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

दल र उम्मेदवारलाई आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उल्लंकन भएमा काबाहीको चेतावनी समेत दिएको छ ।
आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुसमेतलाई पालना गर्न लगाउन आयोगले निर्देशन दिएको हो । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बुधबार प्रेस विज्ञप्ति जारी गरी लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट निर्वाचन प्रचारप्रसारमा सरकारी स्रोत साधन उपयोग गरको, घरदैलो कार्यक्रममा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना आएकाले उक्त निर्देशन दिइएको जनाएका छन् ।
आयोगले आचारसंहिताको दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने समेत स्पष्ट गरेको छ । प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा संघीय वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसारमा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदासमेत उल्लेखित व्यवस्थाको पालना गर्न आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्