Logo

सरकारको हचुवाको निर्णय प्रति सर्वत्र विरोध

नवौं खेलकुदमा प्याराग्लाइडिङ अन्योल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लियर हाल जारी रहेको प्याराग्लाइडिङ प्रतियोगिता नै अन्यौल भएको छ । पोखरामा ३९ वर्षपछि भएको नवौं खेलकुद प्रतियोगिताअन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाइडिङ देशैभरि प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको भन्दै यसको सर्वत्र बिरोध हुन थालेको छ ।
शनिबार प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फको एक राउण्डको खेल सम्पन्न भएको अबस्थामा दोस्रो दिन आइतबार सुरुमै खेलकै क्रममा पोखराको सराङकोटमा प्याराग्लाईडिङ गर्ने क्रममा उडान भरेको केही सेकेन्डमै कोल्याप्स भई दुर्घटनामा परी मृत्यु भएका आर्मीका निशिम थापा मगरको मृत्यु भएको थियो ।
खेलको क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु हुने घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उक्त घटना प्रति राज्यले आफुहरूसंग एक पटक पनि छलफल र सहकार्य विना हचुुवाको भरमा प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको बताए । प्याराग्लाईडिङको सम्बन्धित संघ र प्राविधिक कमिटिले उक्त प्रतियोगिता सञ्चालन गर्न माग गरेकोले आफूले आवश्यक तयारी गर्न निर्देशन दिएको उनले बताए ।
मत्रिपरिषद्को निर्णय आफुहरूले मान्नु पर्ने भएकाले यस बिषयमा सरकारले आज वा भोलि नै सकरात्मक निर्णय दिने आफूहरू आशावादी भएको सदस्य सचिव घिसिङले बताए । उक्त दुर्घटनामा परी खेलाडी गुमाउनु परेकोमा आफुहरू भने निकै दुखी भएको उनले बताए । सरकारले यस्तै निर्णय गर्दै जाने हो भने कुनै दीन हवाई दुर्घटना हँुदा सबै हवाई उठान बन्द गर्दा के हुन्छ भनी उनले प्रति प्रश्न गरे ।
यस विषयमा नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव एवं प्रतियोगिताका सहसंयोजक शैलेन्द्र राउतले डण्डीबियोसमेत खेल्न नजान्ने जसरी राज्यले हचुवाको भरमा निर्णय गरेको आरोप लगाए । राज्यको उक्त निर्णय गर्दा सम्बन्धित खेल संघलाई र आयोजकलाई समेत बिना जानकारी देशभरि प्याराग्लाइडिङ बन्द गर्नुले समग्र नेपालको खेल क्षेत्रमै प्रश्न उठ्ने उनले जनाए । आफूहरूले बुधबारदेखि टाक्स घटायर भए पनि प्रतियोगितालाई निरन्तरता दिन चाहेको राउतले बताए ।
यस विषयमा हवाई खेलकुद संस्था नाका अध्यक्ष सुनिल भट्टराईले कुनै पनि बिषयको समस्याको समाधान बन्द गर्नु नभई त्यसका अन्य कारक तत्वहरू खोजि गर्नु भएको बताउँदै राज्यको निर्णय प्रति छक्क परे । कोभिडबाट थलिएको पोखराको पर्यटन क्षेत्रलाई नवौं खेलकुद र प्याराग्लाडिङ खेलले खेल पर्यटनको प्रबद्र्धन हुने ठूलो आशा लिएको अबस्थामा सरकारको यस्तो निर्णयले आफुहरू निकै निरास भएको अध्यक्ष भट्टराईले बताए । सरकारको हतारको निर्णयले पोखराको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्ने उनले दाबी गरे । उनका अनुसार प्याराग्लाईडिङले पोखरा क्षेत्रमा दैनिक करिब एक हजार जनालाई रोजगारी हुदा ३० लाखको कारोवार हुने गरेको छ ।
यस बिषयमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले केही बोल्न चाहेनन । फोनबाट कुरा गर्दा उनले डिजिलाई सोध्नु भनेर आफू पन्छिाए ।
नवौं खेलकुदका प्रविधिक संयोजक हिमालराज दाहालले खेलकै क्रममा संसारमा कहिले काँहि केही खेलाडीहरूको मृत्यु हुन सक्ने भएको भन्दै यस बिषयमा सरकारले बन्द नै गर्नु उचित नभएको बताए । आफुहरूले उक्त प्रतिोगितालाई अघि बढाउन चाहेको उनले जनाए । प्याराग्लाईडिङमा नेपालले एसियन गेममा रजत पदक दिलाएको थियो ।
निशिमको अन्त्यष्टी
पोखरा । नवौं खेलकुदमा सहभागी प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको आज अन्त्यष्टी गरिएको छ । प्याराग्लाइडिङको क्रसकन्ट्रि विधामा सहभागी भएका त्रिभुवन आर्मीका मगरको प्याराग्लाइडिङको क्रममा आइतबार दुर्घटनामा परी निधन भएसंगै आज उनको स्मृतिमा श्रद्धान्जलीसभासहित अन्त्येष्टि गरिएको छ ।
उनको अन्त्येष्टिमा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टरका पृतनापति बाबुराम श्रेष्ठ, आफन्त, पोखराका मेयर धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्रदेश खेलकुदका पदाधिकारी, खेलाडी एवं खेलकुदकर्मी र उनका आफन्तजनहरूले श्रद्धाञ्जली दिएका थिए । उनको पार्थीव शरीरिमा राखेपको झण्डा समेत ओढार्ईएको थियो ।
उनको संस्कार अनुसार पोखरा रामघाटको अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगिएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले रजत जितेका थिए । यसपालीको प्रतियोगितामा पनि उनले पदक ल्याउने उत्तिकै सम्भावना थियो तर परिस्थिती विपरित हुदा उनले प्रतियोगितामा सहभागि हुदा दुर्घटनामा परी संसारबाट बिदा लिनु पर्याे ।
उनको अन्त्यष्टी गर्नु पूर्व पोखरामा शव यात्रा समेत गरिएको थियो । उनी मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको उनको शवले शव यात्रामा सहभागिलाई निकै भावुक बनायो । आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि थामिलन सकेन । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।” एक्लो छोरा गुमाएको जति चोट आमाबाबुलाई पर्‍यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको क्षति भयो ।
भलिबलका घाइते खेलाडीलाई आर्थिक सहयोग
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा घाइते भएका गण्डकी भलिबल टिमका खेलाडी प्रेम बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश र बागमतीका विच भएको उद्घाटन खेलको क्रममा प्रेमको खुट्टा भाँच्चिएको थियो । उनलाई सोमबार एक कार्यक्रमका विच नगद १ लाख ३३ हजार ५ सय ५५ सहयोग गरिएको गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
उक्त सहयोग रकम मध्ये गैरआवासीय नेपाली संघ (एनआरएनए)भलिबल टिमले ५५ हजार ५ सय ५५ प्रदान गरेको छ । त्यसै गरी अन्य सहयोगीहरूमा हङकङका विष्णु गुरुङ र खड्क गुरुङले समान १०/१० हजार, महेन्द्र छन्त्यालले १० हजार, राजु केसी हाल अमेरिकाबाट १० हजार, गल्कोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसी, जिवन खड्का क्षेत्री, दूत पुन मगर, निरञ्जन श्रेष्ठले समान ५/५ हजार, टिपटप हेल्प नेपाल काठमाण्डौका अध्यक्ष बाशु श्रेष्ठले नगद १५ हजार र रमेश विकले नगद ३ हजार सहयोग गरेका छन् ।
घाइते खेलाडी प्रेमको सहयोगका लागि पूर्वराष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल संघका सल्लाहाकार तथा पर्वत क्लव हङकङका अध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा गठित सहयोग समितिले स्वदेश तथा विदेशबाट रकम संकलन गरिएको थियो । तनहुँ शुक्ला गण्डकी नगरपालिका वाड नं १० का प्रेम घरको आर्थिक अवस्था कमजोर रहेको र उनको सहयोगका लागि सबै संग अपिल गरिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्