लमजुङका २२ मतदानस्थल अति संवेदनशील

सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका १ सय २८ मतदानस्थलमध्ये २२ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र कायम गरी गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
सुरक्षा समितिका अनुसार जिल्लामा ८३ वटा मतदानस्थल संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
प्रजिअ वैद्यले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनका लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रजिअ वैद्यको भनाई छ ।
चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको बुझिएको छ ।
लमजुङमा १ सय २८ मतदानस्थलमा एकसय ८६ मतदान केन्द्र छन् । सुरक्षा समितिले सवै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । त्यो भन्दा बाहिरी घेरामा नेपाली सेनालाई पनि प्रयोग गरिने सुरक्षा समिति लमजुले जनाएको छ ।