प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्पmबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । “उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने, “उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे, जहाँ उनको निधन भयो ।”
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा– १० का बासिन्दा हुन् । उनको घर भने गोरखा पालुङटार हो । उनी प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत थिए । मृतक थपामगरको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आइतबार हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।