साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनी दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म झन्डै तीन लाख कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६ सय ८० रुपैयाँ ७७ पैसा बराबर रहेको छ ।
कार्यालयका अनुसार कुल कम्पनीमध्ये प्राइभेट कम्पनी (प्रालि)को संख्या सबैभन्दा बढी २ लाख ८८ हजार ५७ छ । पब्लिक कम्पनीको संख्या १ हजार ८ सय २१ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार कार्यालयमा नाफा कमाउने र नाफारहित गरी दुई प्रकारका कम्पनी दर्ता हुने गर्छन्, जसमध्ये हालसम्म मुनाफा कमाउने कम्पनीको दर्ता संख्या २ लाख ९० हजार ३ सय १५ र नाफारहित कम्पनीको संख्या ४ हजार ३ सय ५ रहेको छ । यस्तै, कार्यालयमा दर्ता भएका वैदेशिक लगानीका कम्पनीहरुको संख्या भने १ हजार १ सय ७९ रहेको उपरजिष्ट्रार कार्कीले जानकारी दिए ।
कम्पनी स्थापनाको क्रमसँगै सेयरधनीहरुको संख्या पनि उल्लेख्य रहेको पाइएको छ । उपरजिष्ट्रार कार्कीका अनुसार प्राइभेट कम्पनीका सेयरहोल्डर नागरिकको संख्या ७ लाख ४६ हजार ५ सय २८ रहेको छ । यस्तै, दर्ता भएका कम्पनीमध्ये एकल स्वामित्वका कम्पनीको संख्या सबैभन्दा बढी १ लाख २७ हजार ३ सय ४३ रहेको छ । यता, सरकारले नियमित विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरि छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरुले यस्तो छुट सुविधा पाउने छन् । जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरुले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ । चालू आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा पनि यो व्यवस्था थियो । सरकारको निर्णयपछि आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक विवरण नबुझाउने कम्पनीहरुले प्रत्यक्ष लाभ पाउनेछन् ।
कम्पनी ऐन अनुसार तोकिएको समयमा कम्पनीहरूले आफूले दिनुपर्ने विवरण नदिएमा हरेक वर्ष पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । लगातार तीन वर्षसम्म कम्पनीहरूले विवरण नबुझाएमा वा राजस्व दाखिला नगरेमा कम्पनी खारेज गर्नेसम्मको अधिकार कार्यालयलाई छ । कम्पनीहरुले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास गरी यसको ३० दिनभित्र कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । हाल शुल्कभन्दा जरिवाना महँगो भएका कारण धेरै कम्पनी नवीकरण हुन नसकेको व्यवसायीहरु बताउँछन् ।
नवीकरण भने ४० प्रतिशतमात्र
कम्पनी रजिष्ट्रारको कार्यालयमा करिब ३ लाख कम्पनी दर्ता भए पनि नवीकरण गर्ने कम्पनीको संख्या भने करिब ४० प्रतिशत हाराहारीमात्र छ । कार्यालयका अनुसार नियमित नवीकरण गर्ने कम्पनीको संख्या अघिल्लो आर्थिक वर्षसम्म ९१ हजार ७ सय ४७ रहेको छ भने गत आवमा कर छुटका कारण २५ हजार ८ सय ६० कम्पनीले नवीकरण गराएका छन् । यसरी कुल दर्ता भएका कम्पनीको तुलनामा गत आवसम्ममा ३९.९१ प्रतिशतले नवीकरण गराएको कार्यालयको रेकर्डमा उल्लेख छ भने नियमित नवीकरण गराउने कम्पनीको संख्या ३१.१४ प्रतिशत रहेको छ ।