भक्तजनले चढाएका सामग्री बिक्री गर्दै कोष «

भक्तजनले चढाएका सामग्री बिक्री गर्दै कोष

पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्री बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
कोषले मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरिशंकर पराजुलीले बताए । भक्तजनले श्रद्धाले चढाएका सामग्रीलाई कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीलाई आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीह बिक्री गरिने उनले बताए ।
उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको बताए । कोषको आयलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित सामग्रीहरुको बिक्री गरिएको उनले बताए ।
त्यसैगरी कोषले प्रकाशन गरेका शिव महापुराणलगायत अन्य विभिन्न प्रकाशन पनि बिक्री गरिएको उनले जानकारी दिए ।सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने भन्दै महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रुपमा जम्मा गर्ने गरिएको बताए । पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरु र कर्मचारीलाई कोषमा जम्मा भएको रकमबाटै तलव तथा सेवा सुविधा दिइने गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्