भैरहवाका होटल व्यवसायीले बैंकको ब्याज नबुझाउने

सरकारसँग बैंकको किस्ता तिर्ने समयाबधि बढाउनु पर्ने र पुनरतालिका ल्याउनुपर्ने माग गर्दै आएका होटल व्यवसायीले माग पूरा नभएपछि असोज महिनामा बुझाउनु पर्ने बैंक तथा वित्तीय संस्थाको साँवा तथा व्याजको किस्ता नबुझाउने भएका छन् । दुई दिनअघि मात्रै पोखराका पर्यटन व्यवसायीले पनि बैंकको किस्ता नतिर्ने निर्णय गरेका छन् ।
सिद्धार्थ होटल संघ नेपाल(सान)को बैठकले असोज महिनाको बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने किस्ता नबुझाउने निर्णय गरेको अध्यक्ष एवं होटल संघका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले बताए ।
“२०७२ सालको भूकम्प, त्यसपछिको लामो बन्द हडताल र २०७६ फागुनदेखि कोरोना भाइरस संक्रमणका कारण २ वर्ष भन्दा लामो समयदेखि पूर्णरुपमा प्रभावित होटल व्यवसाय बिस्तारै उठन सुरु गरेको अवस्थामा थियो” उनले भने, “हामी व्यवसाय कसरी उठाउन सकिन्छ भनी लागि परेका छौं, तर बैंक भने हतोत्साही गर्दै हाम्रो उत्साह मनोबल घटाउँदैछ ।” बैंकले ब्याजका लागि ताकेता गर्दा व्यवसायी मानसिक तनावमा रहेको उनले बताए ।
कुनै महामारी र बिपत्ति नआए यो क्षेत्र पूर्ववत अवस्थामा आउन अझै कम्तिमा ४ वर्ष लाग्ने देखिएको व्यवसायीले बतएका छन् । कम्तिमा २ वर्ष पछि सावा ब्याज बुझाउने गरी समय पर धकेलिदिन माग गरेको व्यवसायीले बताएका छन् ।
होटल व्यवसायीहरुले सरकारले पर्यटन व्यवसायको पूर्नउत्थानका लागि कुनै उपयुक्त कदम नचालेको, खाली एकाध सहुलियतका बुँदा देखाई कनिका छर्ने काम गरेको संघका सदस्य एवं होटल मौर्यका प्रबन्ध निर्देशक रामबहादुर कोइरीले बताए । “होटल व्यवसायको अवस्था राम्रो छैन अहिले, शंकटबाट माथि उठने प्रयासमा छौ, ऋण तिर्न समय मागेका हौ, नतिर्ने भनेका छैनौं, तर नत सरकार नत बैंक कहिबाट सुनुवाई हुन सकेन, किस्ता तिर्न सक्ने अवस्था रहेन, त्यसैले यस्तो निर्णय गर्न बाध्य भयौं” कोइरीले भने । सरकार बैंकले कुनै कदम उठाए त्यस्को प्रतिकार गर्न र होटल व्यवसायको चाबी सरकारलाई बुझाएर आन्दोलनमा उत्रिन बाध्य हुने समेत उनीहरुको भनाइ छ ।
पर्यटन व्यवसायीले कर्जाको ब्याजदर घटाई १ अंकमा ल्याउनु पर्ने, थप राहतका कार्यक्रम पुुनरकर्जा कोषको समय वृद्धि गरी कम्तिमा ३ वर्ष गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् । बैंकले असार मसान्तसम्मका लागि पुनरतालिका ल्याउन उनीहरुको माग छ ।
रुपन्देही जिल्लाको भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवललगायतमा होटल क्षेत्रमा ५० अर्ब भन्दा बढीको लगानी छ । तिलोत्तमा र लुम्बिनीमा २ वटा पाँचतारे होटल सञ्चालनमा छन् भने भैरहवामा ३ वटा पाँचतारे होटल निर्माणको क्रममा रहेको छ । चारतारे, तीनतारे तथा पर्यटकीय स्तरका होटल रुपन्देहीमा दर्जनांै रहेका छन् ।