ललितपुर–३ मा पम्फाको उम्मेदवारी

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
आईतवार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उनी नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन् । उनले अबको आफ्नो एजेण्डा संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन् ।
स्वतन्त्रहरुप्रति इंगित गर्दै मन्त्री भुसालले नेपालको संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक जनाको हिरोइजमले नेपालमा केही पनि नहुने बताइन् ।