के भन्छन् काठमाडौंका उम्मेदवार ?

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्म अनुरुप संघीय कानूनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बताए । उनले आगामी मंसिर ४ गतेको निर्वाचनबाट आउने संसदले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाई संघीय कानूनहरु बनाउने बताए । उनले आफूले स्वास्थ्य तथा पर्यावरणको क्षेत्रलाई पनि ध्यान दिने बताए । उनले जनताको तमाम समस्याहरु सम्बोधन गर्नेगरी नेपाली कांग्रेस अघि बढ्ने बताए ।
नेकपा (एमाले) का तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण पौडेलले आफ्नो क्षेत्र देशकै राजनीतिक इपीसेन्टर भएपनि सो अनुसारको अनुभुति गर्न नसकिएकाले आफ्नो उम्मेदवारी परेको बताए । उनले आफू पार्टीको उम्मेदवार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको मुद्दामा पार्टी स्पष्ट भएकाले आफूहरुले जनताको मत पाउने बताए । उनले राष्ट्रियता, स्वाधिनता र समृद्धिको कुरा सदनमा सशक्त रुपले उठाउने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता रविन्द्र मिश्रले राजनीतिमा देखिएको विकृतिको जञ्जाल तोड्न आफूले उम्मेदवारी दिएको बताए । उनले अर्थ राजनीतिक एजेण्डालाई ओझेलमा पनि पार्न नदिने बताए । उनले गुणस्तरीय र नि:शुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गराउनुपर्ने बताए । उनले देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउन र विदेशी हस्तक्षेप रोक्न आफ्नो उम्मेदवारी भएको बताए ।
व्यवस्थित शहरीकरण, सम्पदा संरक्षण, व्यवस्थित बाटोघाटो, अतिक्रमित जग्गा र खोलाहरुको खाली गर्ने कुरा र प्रदूषण घटाउने कुरापनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
त्यस्तै नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानून बनाउने मानिस नगइ कानून भत्काउने मानिसहरु गइरहेको टिप्पणी गरे । उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानून बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए । उनले सदनमा संगठित अपराधीहरुको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उम्मेदवारी दर्ता गराएका पुकार बमले परिवर्तनको लागि आफ्नो उम्मेदवारी परेको बताए । उनले युवाहरु सदनमा आउनुपर्ने भएकाले आफ्नो उम्मेदवार बनेको बताए ।
काठमाडौं–५ मा ईश्वर पोखरेल, प्रदीप पौडेल र रञ्जु दर्शना
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको हीतका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आईतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउँदै यस्तो बताएका हुन् । यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पोखरेलसँग यो पटक सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका प्रदीप पौडेल प्रतिष्पर्धी छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताए । पार्टीका नेताहरु घनश्याम भुसाल र डा. भीम रावललाई टिकट नदिएको बारे सञ्चारकर्मीहरुको प्रश्नमा उनले विभिन्न स्थानमा विभिन्न व्यक्तित्वहरु छुट्नुभएको उल्लेख गर्दै यस बारेमा पार्टी नेतृत्वले बुझेर अघि बढेको बताए ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ बाट नै सत्तारुढ गठबन्धनको उम्मेदवार बनेएका नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले शुसाशन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्ने प्रतिवद्धता समेत जनाए । नेता पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गरे ।
नेता पौडेलले आफूसँग जितको आधार प्रशस्त रहेको बताए । काठमाडांै क्षेत्र नम्बर ५ बाट नै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।
काठमाडौं–७ मा मानुसी र मानन्धरको उम्मेदवारी
काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगि उनले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै नेकपा एमालेका नेता रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको बताए । उनले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए ।
गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका वसन्त मानन्धर र (ख) मा नेपाली काँग्रेसका सविन तामाङ उम्मेदवार छन् ।
काठमाडौं–८ मा पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी वि.सं. २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।