उम्मेदवारी दर्ता उत्साहजनक

चार मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी मनोनयन भएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका हुन् ।
प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो । कतिपय उम्मेदवार बाजागाजा तथा झाँकीसहित कार्यकर्ताको हुल लिएर निर्वाचन कार्यालय पुगेका थिए ।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता संख्या रहेका छन् । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।