Logo

शीर्ष नेता आफैं पुगे, देउवाको दर्ता वारेसबाट

चार मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ता सकिएको छ । आईतवार विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गइ चुनावी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । चुनावी मनोनयन दर्ताका लागि शीर्ष नेताहरु कोही आफैं सहभागी भएका छन् भने कसैले वारेस पठाएर मनोनयन दर्ता गराएका छन् । आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराइन् । सभापति देउवाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएको यो सातौं पटक हो । काँग्रेस सभापति देउवा वि.सं. २०४८ साल यता डडेलधुराबाट सांसद बन्दै आएका छन् । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिउँसो २ बजे मनोनयन दर्ता गराए । अध्यक्ष ओलीले आफैँ उपस्थित भएर उम्मेदवारी मनोनयन गराएका थिए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट मनोनयन दर्ता गराए । उनले मनोनयन दर्ताका क्रममा यसअघि गोरखा २ बाट चुनाव जित्दै आएका बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लाई साथमा लगेर आफैँले मनोनयन दर्ता गराए । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर मनोनयन दर्ता गराए छ भने पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा पुगेर मनोनयन दर्ता गराए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराए । त्यस्तै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । प्रत्यक्षतर्फ देशभरका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्